निर्माण व्यवसायी संघ कास्कीद्धारा प्रजिअसँग भेट,मुल्यवृद्धि अनुसार दररेट कायम गर्न माग

हिमाली आवाज । निर्माण सामग्री र ढुवानी खर्चमा भएको निरन्तर मूल्यवृद्धिका कारण निर्माण क्षेत्र थप संकटतर्फ धकेलिएको भन्दै नेपाल निर्माण व्यवसायी संघ कास्कीले वर्तमान बजार अवस्थाअनुसार जिल्ला दररेट पुनःनिर्धारण गर्न प्रशासनको ध्यानाकर्षण गराएको छ।

संघका पदाधिकारीहरूले साेमबार कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कुमानसिंह गुरुङलाई उहाँकै कार्यकक्षमा भेट गरी बधाई तथा शुभकामना व्यक्त गर्नुका साथै निर्माण व्यवसायीले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी गराएका हुन्। संघका अध्यक्ष लिलकाजी गुरुङले प्रजिअ गुरुङलाई ‍स‌घकाे तर्फबाट बधाइ तथा शुभकामना पत्र हस्तान्तरण गर्नुभयाे ।

अध्यक्ष गुरुङले हाल निर्माण उद्गाेगमा देखिएको असहज अवस्थाबारे प्रजिअ गुरुङलाई अवगत गराउँदै बढ्दो लागत र पुरानै दररेटबीचको असन्तुलनले व्यवसायीहरू समस्यामा परेको बताउनुभयो। उहाँले बजारको वास्तविक मूल्यसँग मेल खाने गरी जिल्ला दररेट परिमार्जन गर्न आवश्यक रहेको धारणा राख्नुभयो।

संघका सचिव डम्बरराज ढकालका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय परिस्थितिका कारण निर्माण सामग्री तथा ढुवानी खर्चमा उल्लेख्य वृद्धि भएको छ। विशेषगरी मध्यपूर्वमा विकसित घटनाक्रमले इन्धन तथा ढुवानी क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्दा निर्माण आयोजनाहरूको लागत बढेको उहाँको भनाइ छ।

“हाल कायम रहेको जिल्ला दररेटले बजारको वास्तविक अवस्था प्रतिबिम्बित गर्दैन,” ढकालले भन्नुभयो, “समयमै दररेट संशोधन नभए धेरै निर्माण आयोजनाको काम प्रभावित हुने र कतिपय आयोजना नै ठप्प हुने जोखिम बढेको छ।”

भेटका क्रममा व्यवसायीहरूले प्रजिअ गुरुङको कार्यकालबाट निर्माण क्षेत्रले सकारात्मक अपेक्षा राखेको बताएका थिए। विभिन्न स्थानीय तहमा जिम्मेवारी सम्हाल्दा व्यवसायीका समस्या समाधानमा सक्रिय भूमिका खेलेको अनुभवका आधारमा कास्कीमा पनि व्यवसायीमैत्री वातावरण निर्माण हुने विश्वास संघले व्यक्त गरेको छ।

निर्माण क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भए पनि पछिल्लो समय लागत वृद्धि, भुक्तानी समस्या र नीतिगत जटिलताले व्यवसायीहरू दबाबमा परिरहेका बेला दररेट पुनरावलोकनको मागलाई संघले प्रमुख मुद्दाका रूपमा अघि सारेको छ।

Comments
Loading...