हिमाली आवाज । पोखरा महानगरपालिकाको १९ औँ नगर सभा बुधबार सम्पन्न भएको छ । नगर सभाले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि महानगरपालिकाको वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ ।
सभाले उपप्रमुख मन्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गर्नुभएको महानगरपालिकाको आव २०८३।८४ को वार्षिक विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट रु सात अर्ब १५ करोड २५ लाख सर्वसम्मतिले पास गरेको हो ।
महानगरले प्रस्तुत गरेको आगामी वर्षको बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट रु दुई अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट रु पाँच करोड ५० लाख, समपूरक अनुदान रु एक करोड ८२ लाख, समानिकरण अनुदान रु४९ करोड ३७ लाख गरी सङ्घीय सरकार वित्तीय हस्तान्तरणको कुल योगदान रु तीन अर्ब १८ करोड ६० लाख रहेको छ ।
यसैगरी गण्डकी प्रदेश सरकार समपूरक अनुदान तर्फ रु ६० लाख, विशेष अनुदान रु ४० लाख र समानिकरण अनुदान तर्फ रु आठ करोड १५ लाख ३६ हजार गरी प्रदेश सरकार वित्तीय हस्तान्तरणको कुल योगदान रु नौ करोड १५ लाख ३६ हजार रहेको छ ।

राजश्व बाँडफाँड तर्फ सङ्घीय सरकारबाट प्राप्त हुने रु ३४ करोड ३४ लाख ७३ हजार, राजश्व बाँडफाँड गण्डकी प्रदेश सरकारबाट रु चार करोड ९ लाख ८६ हजार, राजश्व बाँडफाँड स्थानीय सरकार तर्फ रु एक अर्ब ३१ लाख १४ हजार र आन्तरिक स्रोत तर्फ रु दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार गरी कुल आन्तरिक आय रु तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार हुनेछ । कूल विनियोजनमा चालु खर्च तर्फ ५५.१५ तथा पुँजीगत खर्च तर्फ ४४.९५ रहेको छ ।
नगर सभाले पोखरा महानगरपालिकाको आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३, न्यायिक समितिको वार्षिक प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन सहित कार्यपालिकाबाट सिफारिस भइआएका विधेयक, संशोधन विधेयक, मापदण्ड लगायत कानुनहरू समेत पास गरेको छ । महानगर प्रमुख धनराज आचार्यले नगरसभालाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने नगरसभासदस्यहरु प्रति आभार व्यक्त गर्नुभयो ।
‘समून्नत पोखराको आधार ः सवल अर्थतन्त्र र पूर्वाधार’ को ध्येयका साथ समग्र पोखराको व्यवस्थित विकासका लागि आगामी वर्षको कार्यक्रमले सहयोग पुग्ने आचार्यले बताउनुभयो ।
“निर्वाचनको समयमा गरेका प्रतिवद्धताहरु आत्मसाथ गरी समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन लक्ष्य हासिल गर्न आगामी वर्षको कार्यक्रमले सहयोग पुग्नेछ । ” आचार्यले भन्नुभयो ।
