हिमाली आवाज । ‘बालबालिकाको स्थान विद्यालयमा हो, श्रममा होइन’ भन्ने मूल नारा सहित अर्जुनचौपारी गाउँपालिकाई बालश्रम मुक्त पालिका घोषणा गरिएको छ ।
शुक्रबार अर्जुन चौपारी गाउँपालिका बालश्रममुक्त पालिका घोषणा गर्ने तेस्रो स्थानीय तह बनेको हो ।आवश्यक सूचक तथा मापदण्ड पूरा गरेपछि गाउँपालिकालाई बालश्रममुक्त घोषणा गरिएको हो । यहाँका एक हजार ३१ घर, होटल र पसलको अनुमन, विद्यालय आउने सबै बालबालिका विद्यालय भर्ना भएको पालिकाले बनाएको छ ।
११ स्थानीय तह रहेको स्याङ्जामा यसअघि बिरुवा गाउँपालिका जिल्लाकै पहिलो र फेदीखोला गाउँपालिका दोस्रो बालश्रममुक्त स्थानीय तहका रूपमा घोषणा भएका छन् । अर्जुज चौपारी गण्डकीमा छैटौ र देशमै १४ औ बालश्रम मुक्त पालिका हो ।
यहाँ पञ्चकन्या मावि चेन्ज मेकर क्लबका अध्यक्ष सुप्रिय क्षेत्रीले बालश्रम मुक्त पालिका घोषणा गर्नु भएको हो । बालश्रम मुक्त पालिका घोषणा गर्दै क्षेत्रीले सबैको सहयोगले पालिका बालश्रम मुक्त भएको बताउनुभयो ।

बालबालिकालाई श्रममा लगाउनु भनेको बालबालिकाको सबै अधिकारबाट बन्चित गराउनु भएको बताउदै क्षेत्रीले चेन्ज मेकर क्लबका तर्फबाट बालश्रम मुक्तमा सहयोग रहने बताउनुभयो ।
पालिका उपाध्यक्ष सपना गुरुङले बालश्रम मुक्त घोषणा एउटा उपलब्धि भए पनि घोषणा मात्र गरेर नहुने र सबैका सहयोगले निरन्तरता दिन सकिने बताउनुभयो ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकारी युवराज अर्यालले बालश्रम मुक्त पालिका घोषणा थप जिम्मेवारी थपेको बताउनुयभो । उहाँले कतै बालश्रम भेटेमा खबर गर्न सरोकारवालालाई अनुरोध गर्दै यसलाई प्रतिबद्धताका रुपमा लिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका बालश्रम अधिकारी बद्री प्रसाद वाग्ले अबको पाँच बर्षमा गण्डकी सबै पालिका बालश्रम मुक्त गर्ने लक्ष्य रहेको बताउनुभयो । बालश्रम मुक्त गरेर यस पालिकाले एक फड्को मारेको वाग्ले बताउनुभयो ।
कार्यक्रममा वडा नं –२ का अध्यक्ष धन बहादुर गुरुङ, वडा नं –१ का अध्यक्ष रण बहादुर थापा, कार्यपालिका सदस्य ज्याती केसी ढकाल, रोजगार शाखा प्रमुख गीता ढकाल, उद्योग बाणिज्य संघ प्रतिनिधी शोभाकात रिमाल मन्तब्य राख्नु भएको थियो ।गत असार २ गते प्रतिबद्धता गरिएकोमा कार्यपालिकाले पारित गरेसँगै बालश्रम मुक्त गरिएको हो ।
