दिगो सहकारी सञ्चालनमा जोड दिँदै विशाल सहकारीको नीति–बजेट गोष्ठी

हिमाली आवाज । पोखरा–४, बुद्ध विशालबजारस्थित विशाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १०४औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सम्बन्धी गोष्ठी सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष शिव शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष बालकृष्ण ढकालले गोष्ठिको उद्देश्यबारे प्रकाश पार्दै सहभागीलाई स्वागत गर्नुभएको थियो। सचिव प्रदीपकुमार मुल्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा सञ्चालक ईउलकुमारी पुनले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो।
कार्यक्रममा सञ्चालक समिति, सल्लाहकार, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, विभिन्न उपसमितिका सदस्य तथा कर्मचारी गरी करिब ४० जनाको सहभागिता रहेको थियो। गोष्ठिमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदीप ढकालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटसँग सम्बन्धित विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।

छलफलका क्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक रामकृष्ण दुवाडीले वित्तीय सहकारीको आगामी यात्रा अझ चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै यथार्थपरक कार्यक्रम र बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी संस्थाका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले ऋण असुलीलाई प्रभावकारी र व्यवस्थित बनाउने कार्यमा ढिलाइ गर्न नहुने धारणा व्यक्त गर्नुभयो। वरिष्ठ सल्लाहकार गोविन्दप्रसाद ढकालले सहकारी क्षेत्रमा देखिएको ऋण असुलीको चुनौती समाधान गर्न सञ्चालक समिति र व्यवस्थापन अझ सक्रिय हुनुपर्ने बताउँदै संस्थाको दिगो सञ्चालनका लागि प्रभावकारी रणनीति अपनाउनुपर्ने सुझाव दिनुभयो।

कार्यक्रममा कोषाध्यक्ष इन्द्रराज अर्याल, ऋण संयोजक तथा सञ्चालक बुद्धिबहादुर कुँवर, लेखा सदस्य मोहनराज पौडेल तथा सदस्य ईश्वरीप्रसाद आचार्यलगायतले नीति, कार्यक्रम र बजेटका विविध पक्षमा सुझाव तथा जिज्ञासा राख्नुभएको थियो।

गोष्ठिमा सहभागीहरूले प्रस्तुत सुझावलाई समेटेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई अझ प्रभावकारी, व्यवहारिक र संस्थाको दिगो विकासमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

Comments
Loading...