हिमाली आवाज । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना कृषकलाई आइतबार नगद सहित सम्मान गरेको छ ।
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको व्यावसायिकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्देश्यले सम्मान गरेको हो ।
कार्यक्रममा कृषिमन्त्री भीमबहादुर कार्की, प्रदेश सामाजिक विकास तथा कृषि समितिका सदस्य भक्तबहादुर कुँबर र मन्त्रालयका सचिव डा. प्रेरणा सेढाईं भट्टराईले सम्मानपत्र, नगद पुरस्कार र दोसल्ला प्रदान गर्नुभयो ।
कृषि क्षेत्रलाई सम्मानित पेशाका रूपमा स्थापित गर्दै सफल कृषकका अनुभवलाई अन्य कृषकसम्म पु¥याउने र युवालाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले हरेक वर्ष यस्तो सम्मान कार्यक्रम सञ्चालन गरिँदै आएको मन्त्रालयले जनाएको छ ।
यस वर्षको प्रदेश सर्वोत्कृष्ट कृषि पुरस्कार बागलुङ जिल्लाको गलकोट नगरपालिका –१ को सहारा कृषि फर्मका प्रोपाइटर गमबहादुर कुँबर पुरस्कृत हुनुभयो । उहाँले नगद रु ५० हजार तथा सम्मान पत्र प्राप्त गर्नुभयो ।

यसैगरी प्रदेश उत्कृष्ट कृषि पुरस्कारबाट नवलपरासीको मौला कालिका कृषि फर्मका प्रोपाटर निर्मल भट्राई, पोखरा–१४ को रोशन एण्ड रोहित कृषि फर्मका सञ्चालक रमेश खनाल, तनहुँ व्यास नगरपालिका–१० का दाजुभाई गाई फार्मका सञ्चालक रमेश तिमिल्सिना सम्मानित हुनुभयो ।
यसैगरी खिलुङ कालिका अर्गानिक कृषि फर्म भीरकोट नगरपालिका–७ स्याङ्जाका शालिग्राम अर्याल र निलगिरी पशुपन्क्षी तथा कृषि व्यवसाय मुस्ताङका प्रोपाइटर भुपेन्द्र शेरचन सम्मानित हुनुभयो । प्रदेश उत्कृष्ट कृषि पुरस्कार राशी जनही नगद रु ३२ हजार र सम्मानपत्र रहेको मन्त्रालयका सूचना अधिकारी समेत रहनुभएका पशु चिकित्सक डा राजेशकुमार चौधरीले जानकारी दिनुभयो ।
कृषिमन्त्री कार्कीले कृषि क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
“कृषि उत्पादनलाई बजारसँग जोड्दै व्यवसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर कृषि प्रणाली विकास गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । उत्कृष्ट काम गर्ने कृषकलाई सम्मान गर्दा उनीहरूको हौसला बढ्नुका साथै अन्य कृषक पनि आधुनिक र व्यवसायिक खेतीतर्फ आकर्षित हुन सहयोग पुग्छ । ” मन्त्री कार्कीले भन्नुभयो ।
मन्त्रालयका सचिव डा. प्रेरणा सेढाईं भट्टराईले कृषिमा नवप्रवर्तन, यान्त्रिकीकरण, आधुनिक प्रविधिको प्रयोग र उत्पादन वृद्धिमा उल्लेखनीय योगदान पु¥याउने कृषक तथा कृषि फर्मलाई प्रोत्साहन गर्न पुरस्कार वितरण गरिएको बताउनुभयो।
उहाँले भन्नुभयो,“सम्मानले कृषि क्षेत्रमा सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै उत्पादन वृद्धि, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने छ । ”
प्रदेशमा कृषि उद्यमशीलता विस्तार, आयात प्रतिस्थापन, खाद्य सुरक्षा र युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ उत्कृष्ट कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने मन्त्रालयले जनाएको छ ।
