हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम विजयी हुनुभएको छ ।
संघको यही भदौ २० गतेदेखी सुरु भएको ३६ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आइतबार सम्पन्न मतदानको आज साँझ घोषणा गरिएको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा विजयी गौतमले ७५१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रत्याशी अर्जुन पोखरेलले ६३७ मत ल्याउनुभयो ।
यसैगरी अध्यक्षका अन्य प्रतिस्पर्धीहरु उत्तममान बुद्धाचार्यले ६०१ र वलराम आचार्यले २५३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक दामु अधिकारीले जानकारी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष गौतम हाल संघको महासचिव हुनुहुन्थ्यो । संघले आफ्नो ७२ वर्षको इतिहासमा पहिलोपटक महिला नेतृत्व पाएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा एक हजार ४८१ मत ल्याएर दीनेशचन्द्र बास्तोला विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी टीकाराम सुवेदीले ७६० मत प्राप्त गर्नुभयो ।
यसैगरी संघको उद्योगतर्फको उपाध्यक्षमा सौगात थापा एक हजार २७१ मत ल्याएर विजयी हुनुभयो । प्रत्याशी ललितबहादुर कुँबरले ९७३ मत ल्याउनुभयो ।
वाणिज्यको तर्फको उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ एक हजार ६५ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी भीम गौतमले ९१९ मत ल्याउनुभयो ।
महासचिवमा सुदीप प्रधानाङ्ग विजयी एक हजार २०२ मत ल्याएर विजयी हुँदा तारानाथ ढुङ्गानाले एक हजार ४२ मत प्राप्त गर्नुभयो ।
उपमहासचिवमा प्रदीप राजभण्डारीले एक हजार १५३ मत प्राप्त गरी विजयी हुनुभयो ।उहाँका प्रत्याशी यादपप्रसाद पोखरेलले ६५८ र रामचन्द्र तिमिल्सिनाले ४३३ मत ल्याउनुभयो ।
कोषाध्यक्ष पदमा देवेन्द्र प्रजुले एक हजार ४३९ मत सहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी जीवनप्रकाश श्रेष्ठले ७७५ मत ल्याउनुभयो ।
संघको कार्यसमिति सदस्य पदका लागि भएको मतदानमा दुर्गा बराल(१७४८), अमृत पोखरेल)१७३१), निर्मला चापागाई(१५८०), गोविन्दबहादुर केसी(१४७८), रामेश्वर अधिकारी(१४७७), मनोहरि पौडेल(१४७६), भानुभक्त अधिकारी(१४५२), दीलिपकुमार श्रेष्ठ(१४४७), रामप्रसाद कँडेल)१४३५) र कमलबहादुर सुनार(१४२४) मत ल्याएर विजयी हुनुभएको निर्वाचन समिति संयोजक अधिकारीले जानकारी दिनुभयो । संघको नयाँ नेतृत्वका लागि आइतबार भएको मतदानमा दुई हजार दुई सय ७४ मत खसेको थियो । संघमा दुई हजार सात सय ३१ सदस्य छन् ।
यसैगरी वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा एक औद्योगिक सदस्यमा पिताम्बर अधिकारी यसअघि नै निर्विरोध हुनुभएको थियो ।
