कालिका क्याम्पसका विद्यार्थीलाई सुरक्षित सवारी सम्बन्धी अभिमुखीकरण

हिमाली आवाज । कालिका बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई सुरक्षित सवारी तथा सडक सुरक्षासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की र भि.ए.डब्लु. इन्टरप्राइज प्रा.लिको सहयोग तथा कालिका बहुमुखी क्याम्पस अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक यामनाथ पनेरुले सहज सवारी आवागमन तथा दुर्घटनारहित समाज निर्माणका लागि सबै जना सचेत हुनुपर्ने बताउनुभयो। दिनप्रतिदिन बढ्दै गएको सवारी दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न तथा सुरक्षित यात्राका लागि सरोकारवाला निकायबीच एकीकृत सहभागिता आवश्यक रहेको उहाँले बताउनुभयो।

सडक सुशासन कायम गर्दै सभ्य समाज निर्माणका लागि सवारी चालक, पैदलयात्रु, विद्यार्थी तथा सबै सरोकारवाला सचेत र जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटनाका कारण, सवारी नियम, सुरक्षित रूपमा सवारी सञ्चालन गर्ने तरिका, ट्राफिक संकेत तथा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा हुन सक्ने सम्भावित दुर्घटनाका विषयमा प्रस्तुतीकरण दिएको थियो। विद्यार्थीलाई क्याम्पसको खेलमैदानमा सुरक्षित सवारीसम्बन्धी प्रयोगात्मक अभ्याससमेत गराइएको थियो।

भि.ए.डब्लु. राइड्स प्रा.लिका व्यवस्थापक कृष्ण परियारले ‘सेफ राइडिङ टिप्स’ सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।

क्याम्पसका सहायक प्रमुख सालिकराम तिमिल्सिना र युवराज गुरुङले सुरक्षित सवारी तथा यसमा सरोकारवालाले खेल्नुपर्ने भूमिकाका विषयमा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा क्याम्पस प्रमुख प्रा. बिरञ्जी गौतमले पछिल्लो समय सवारी दुर्घटनाको दर बढ्दै गएको र त्यसबाट विशेषगरी युवा वर्ग बढी प्रभावित भइरहेको बताउनुभयो। सुरक्षित सवारीसम्बन्धी यस्ता कार्यक्रमले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउँदै उहाँले कार्यक्रममा सहभागी विद्यार्थीले आफ्ना साथीभाइलाई समेत सुरक्षित सवारीबारे सचेत गराउनुपर्नेमा जोड दिनुभयो।

भि.ए.डब्लु. इन्टरप्राइज प्रा.लिका अध्यक्ष सरोज श्रेष्ठले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष तेजेन्द्र के.सी.ले जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की तथा भि.ए.डब्लु. इन्टरप्राइज प्रा.लिलाई मायाको चिनोसहित धन्यवाद ज्ञापन गर्नुभयो।

Comments
Loading...