पर्वतीय दौडमा राज र अर्जुनलाई सम्मान

हिमाली आवाज । तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता–२०८३ अवसरमा राज गुरुङ ‘लाला’ र अर्जुन गोदारलाई सम्मान गरिने भएको छ । ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकले विश्व पर्यटन दिवस सन्दर्भ पारेर यही असोज २४ गते शनिबार आयोजना गर्ने प्रतियोगितामा सम्मान गरिने भएको हो ।

पुम्दीभुम्दीको पर्यटन प्रवद्र्धन तथा स्थानीय क्षेत्रको विकासमा योगदान दिने एक जना र खेलकुद क्षेत्रमा योगदान दिने एक जना गरी आयोजकले पहिलो संस्करणदेखि सम्मान गर्दै आएको प्रतियोगिता संयोजक दीननाथ बरालले बताउनुभयो ।

पुम्दीभुम्दीको पर्यटन प्रवद्र्धन तथा स्थानीय क्षेत्रको विकासमा सक्रिय योगदान पु¥याउँदै आएका राज गुरुङ ‘लाला’लाई आफ्नो जन्मभूमिको पर्यटन विकास, सामाजिक सेवा तथा स्थानीय क्षेत्रको पहिचान प्रवद्र्धनमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै यसपालि सम्मान गर्न लागिएको बरालले जानकारी दिनुभयो ।
गुरुङ कालाबाङ घरेडी बुद्ध पार्कका परिकल्पनाकार तथा कालाबाङ घरेडी बुद्ध पार्क विकास संस्थाका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । पर्यटन व्यवसायसँगै रियलस्टेट तथा सामाजिक क्षेत्रमा सक्रिय उहाँले जन्मभूमिको विकास र प्रवद्र्धनमा निरन्तर काम गर्दै आउनुभएको छ । २०३९ सालमा कालाबाङ घरेडी डहरमुनिमा जन्मिएका गुरुङ स्यामसङ ग्यालोरिका प्रबन्ध निर्देशक समेत हुनुुहुन्छ । व्यवसायसँगै सामाजिक सेवामा समेत सक्रिय गुरुङले असहाय तथा विपन्न वर्गका व्यक्तिहरूलाई सहयोग गर्दै आउनुभएको छ ।
यसअघि, विश्वशान्ति स्तूप समिति अध्यक्ष अशोक गुरुङ र पुम्दीकोट कोट विकास समितिका अध्यक्ष तथा उद्योगपति चन्द्रकान्त बरालसमेत सम्मानित भइसक्नुभएको छ ।

यसैगरी, सम्मानित हुने अर्का व्यक्तित्व अर्जुन गोदार कास्कीको रुपा गाउँपालिकाका हुनुहुन्छ । विभिन्न अल्ट्रा म्याराथन तथा अन्तर्राष्ट्रिय दौडमा सहभागी हुनुका साथै पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री र काठमाडौं–पोखरा अल्ट्रा म्याराथनसमेत पूरा गर्नुभएको उहाँको खेलप्रतिको लगाव र निरन्तरतालाई सम्मान गर्न लागिएको हो । उहाँले २०५४ सालमा नेपाली सेनामा प्रवेशपछि १६ वर्षमै अवकाश लिनुभयो ।

१२ वर्षअघि यूएई पुगेका उनी सन् २०१५ को सुरुवातदेखि विभिन्न अन्तर्राष्ट्रिय दौड तथा म्याराथन प्रतियोगितामा सहभागी हुँदै आएका छन् । गोदारले हालसम्म म्याराथन, हाफ म्याराथन तथा १० किमी गरी विभिन्न दूरीका करिब ४२ अन्तर्राष्ट्रिय म्याराथन पूरा गरिसक्नुभएको छ । । २१ किमी दूरीका प्रतियोगितामा मात्रै उहाँले तीनपल्ट प्रथम स्थान हासिल गर्नुभयो ।

गोदार एथलेटिक्स संघ कास्कीका आजीवन सदस्य एवं कास्की आदर्श समाज यूएईसँग पनि आबद्ध हुनुहुन्छ । यसअघि, उक्त सम्मानबाट हिमाल आरोही तथा साहसिक पर्यटन क्षेत्रका व्यक्तित्व हे.लि. कुसाङ गुरुङ र वसन्त गौतमलाई सम्मान गरिएको केन्द्रका उपाध्यक्ष असफल गौतमले बताउनुभयो ।
प्रसिद्ध विश्वशान्ति स्तूपबाट सुरु भई कालाबाङ घरेडी बुद्ध पार्क पुगेर समापन हुने ८ किमी दूरीको दौड प्रतियोगिता विभिन्न ६ इभेन्ट समावेश छन् ।

Comments
Loading...