कास्कीलाई हराउँदै नवलपुर यू–१९ क्रिकेट च्याम्पियन

हिमाली आवाज । पोखरा क्रिकेट रङ्गशालामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय ‘वाइ वाइ यू– १९’ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरले जितेको छ ।
गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा नवलपुर यू–१९ क्रिकेट टोलीले कास्कीलाई डकवर्थ लुइस स्टर्न (डीएलएस) पद्धतिमा ७१ रनले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भयो ।

नवलपुरले दिएको २०२ रनको लक्ष्य पछ्याएको कास्की वर्षाका कारणले खेल अवरुद्ध भएपछि संशोधित लक्ष्यअनुसार १७० रन बनाउनुपर्ने अवस्थामा २९ ओभरको तेस्रो बलमा ९८ रनमै अलआउट भयो । यससँगै नवलपुरले ७१ रनको जित निकाल्दै च्याम्पियन बन्न सफल भएको थियो ।यसअघि टस जितेपछि ब्याटिङ गरेको नवलपुरले ४४ ओभरको चौथो बलमा सबै विकेट गुमाएर २०१ रन बनाएको थियो ।

नवलपुरका समिर रोकाले सर्वाधिक ४९ रन बनाउँदा समिर न्यौपानेले ३९ रन बनाए । पङ्कज यादवले २७ र दीप्सन भुर्तेलले २४ तथा रजत भुर्तेलले २३ रन बनाए । कास्कीका अनिष राउतले सर्वाधिक चार विकेट हात पारे ।कास्कीका सुरज अधिकारी सर्वाधिक २४ रन बनाउँदा अनिष राउतले २३ र सम्राट अधिकारीले २१ रन बनाए ।
टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका सुशील भुसाल फाइनल खेलको उत्कृष्ट खेलाडी घोषित भए ।

भुसालले फाइनलमा उत्कृष्ट बलिङ गर्दै सात ओभरमा ११ रन खर्चेर चार विकेट लिए । उनको प्रभावशाली बलिङ प्रदर्शनले कास्कीलाई कम योगफलमा समेट्न महत्वपूर्ण योगदान पु¥यायो ।यही असोज २८ गतेदेखी सुरु भएको प्रतियोगितामा गण्डकीका आठ जिल्लाको सहभागिता रहेको प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा स्याङ्जा, पर्वत र नवलपुर तथा समूह ‘बी’मा कास्की, बाग्लुङ र तनहुँ रहेका थिए ।

Comments
Loading...