हिमाली आवाज । विदेशी विश्वविद्यालयको सम्बन्धन र फ्रेन्चाइजका नाममा सञ्चालित शैक्षिक कार्यक्रमको गुणस्तर तथा डिग्रीको मान्यतामाथि प्रश्न उठाउँदै नेपालमा उच्च शिक्षा प्रणालीलाई व्यवस्थित र विश्वसनीय बनाउनुपर्नेमा जोड दिइएको छ ।
पोखरामा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उद्यमी, प्रविधि क्षेत्रका अगुवा तथा डियरवाक र डियरहोल्डका संस्थापक एवं हाम्रो पात्रोका अध्यक्ष डा. रुद्र पाण्डेले नेपालको उच्च शिक्षा, प्रविधिको विकास र शैक्षिक क्षेत्रका चुनौतीबारे आफ्ना विचार प्रस्तुत गर्नुभयो ।
पोखराको पार्दी बिरौटास्थित पोखरा ग्रान्डमा आयोजित कार्यक्रममा विदेशी विश्वविद्यालयको सम्बन्धनका नाममा विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्ने तर डिग्रीको आधिकारिक मान्यता र शैक्षिक गुणस्तरबारे स्पष्ट जानकारी नदिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरिएको थियो ।

विदेशी डिग्रीको आकर्षण देखाएर विद्यार्थीबाट ठूलो रकम असुल्ने र भविष्यमा डिग्रीको मान्यताबारे अन्योल सिर्जना गर्ने गतिविधि नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको थियो । सम्बन्धित निकायले यस्ता कलेजको सम्बन्धन, शैक्षिक कार्यक्रमको वैधानिकता र डिग्रीको मान्यताबारे छानबिन गर्नुपर्ने तथा आवश्यक मापदण्ड पूरा नगर्ने संस्थामाथि कारबाही गर्नुपर्ने धारणा कार्यक्रममा उठाइएको थियो ।
फ्रेन्चाइज मोडलमा सञ्चालन भएका सबै शैक्षिक कार्यक्रमको डिग्री स्वतः मान्य नहुने भएकाले विद्यार्थी भर्ना गर्नुअघि सम्बन्धन र प्रमाणपत्रको मान्यताबारे स्पष्ट व्यवस्था हुनुपर्ने विषय पनि छलफलमा उठेको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भएका तथा विद्यार्थीलाई भ्रममा पार्ने शैक्षिक संस्थाको सम्बन्धन खारेज गरी सञ्चालन बन्द गराउनुपर्ने मागसमेत गरिएको थियो ।
कार्यक्रममा सहभागी पत्रकार तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूले डा. पाण्डेसँग नेपालको उच्च शिक्षा प्रणालीमा देखिएका समस्या, प्रविधिमैत्री शिक्षाको आवश्यकता र यस क्षेत्रमा रहेका सम्भावनाबारे जिज्ञासा राख्नुभएको थियो । शिक्षा तथा प्रविधि क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका डा. पाण्डेसँगको अन्तरक्रियाले नेपालको उच्च शिक्षा प्रणालीलाई गुणस्तरीय, पारदर्शी र विश्वसनीय बनाउने विषयमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।

