हिमाली आवाज । पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी गरेको अभियोगमा कास्की जिल्ला अदालतले सहकारीका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला गरेको छ ।
अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद र रु एक करोड २६ लाख २३ हजार जरिवाना गर्ने फैसला भएको छ ।
त्यस्तै, सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद र रु एक करोड २६ लाख २३ हजार जरिवाना तोकिएको छ ।

अदालतले अर्का प्रतिवादी निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही छ वर्ष कैद र रु २६ लाख २३ हजार जरिवाना गर्ने फैसला गरेको शाखा अधिकृत पोखरेलले जानकारी दिनुभयो ।प्रतिवादीबाट रु १८ करोड ९६ लाख ५९ हजार बिगो असुल गर्नुपर्ने मागदाबी रहेको उहाँले बताउनुभयो ।
न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले गत कात्तिक १७ गते उक्त फैसला गरेको हो । फैसलाको पूर्णपाठ भने आउन बाँकी रहेको अदालतले जनाएको छ ।
सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित १५ जनाविरुद्ध बचतकर्ताले गत वर्ष दायर गरेको अभियोगमाथि सुनुवाइ गर्दै अदालतले उक्त फैसला गरेको हो ।
