हिमाली आवाज । गाउँबाट बढ्दो बसाइँसराइ रोक्ने, रित्तिँदै गएका बस्तीमा चहलपहल बढाउने र ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्याङ्जाको सात सय कोल्मा बहाकोटमा आगामी पुस ८ गते सातौँ राष्ट्रियस्तरको क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने नारासहित सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा करिब ५०० धावक सहभागी हुने आयोजकको अनुमान छ ।
मञ्चले मङ्गलबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । मञ्चका अध्यक्ष दूतप्रसाद गुरुङले विदेश तथा सहरमा बसोबास गर्दै आएका गाउँलेलाई जन्मथलोसँग पुनः जोड्ने र लोपोन्मुख स्थानीय संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको बताउनुभयो ।
उहाँका अनुसार बेलायत, अमेरिका, जापान, हङकङ, जर्मनीलगायत देशमा रहेका नेपाली तथा पोखरा र काठमाडौंमा बसोबास गर्ने गाउँलेलाई आफ्नो जन्मथलोमा फर्काउने अभियानका रूपमा प्रतियोगितालाई अघि बढाइएको हो । खेलकुदका माध्यमबाट गाउँमा चहलपहल बढाउनुका साथै नयाँ पुस्तालाई आफ्नो गाउँ र संस्कृतिसँग परिचित गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
विसं २०७५ मा सम्पर्क मञ्चले अवधारणा अघि सारेपछि सुरु भएको प्रतियोगिता अहिले वार्षिक कार्यक्रमका रूपमा स्थापित भएको मञ्चका महासचिव जीवन पोखरेलले जानकारी दिनुभयो ।

यस वर्ष खेलकुदसँगै स्थानीय लोकसंस्कृति प्रदर्शन र होमस्टे साँझसमेत आयोजना गरिने संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक जीतबहादुर गुरुङले बताउनुभयो । खेलकुद र पर्यटनलाई जोडेर ग्रामीण क्षेत्रको आर्थिक गतिविधि बढाउने लक्ष्य राखिएको उहाँको भनाइ छ ।
प्रतियोगितामा छ विधामा प्रतिस्पर्धा हुनेछ । खुला पुरुष तथा महिलातर्फ २५ किलोमिटर, खुला महिलातर्फ १० किलोमिटर, २१ वर्षमुनिका पुरुषतर्फ १० किलोमिटर, विद्यार्थी छात्र तथा छात्रातर्फ पाँच किलोमिटर र ३० वर्षमाथिका महिलाका लागि लुंगी ड्रेस दौड समावेश गरिएको छ ।
सबै विधाका दौड कोल्मा बराहचौरबाट सुरु भई त्यहीँ समापन हुनेछन् । २५ किलोमिटर दौडले स्याङ्जाको पुतलीबजार नगरपालिका, विरुवा गाउँपालिका र तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न बस्तीलाई समेट्नेछ ।
खुला २५ किलोमिटर दौडका विजेताले क्रमशः रु ५० हजार, ४० हजार र ३० हजार पुरस्कार प्राप्त गर्नेछन् । १० किलोमिटर दौडका विजेताले क्रमशः रु २० हजार, १५ हजार र १० हजार पाउनेछन् । विद्यार्थी दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु आठ हजार, पाँच हजार र तीन हजार तथा लुंगी ड्रेस दौडका विजेताले रु पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि रु १२ लाख ८१ हजार खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी हुन बेलायतबाट नेपाल आउन लाग्नुभएका लालबहादुर गुरुङले यसलाई गाउँसँग टाढिएका पुस्तालाई पुनः जोड्ने अवसरका रूपमा लिनुभएको छ । प्रतियोगिता खेलकुदमा मात्र सीमित नभई विदेश र सहरमा रहेका गाउँलेलाई जन्मथलो फर्काउने तथा नयाँ पुस्तालाई गाउँको परिवेश र संस्कृतिसँग परिचित गराउने अभियानसमेत भएको उहाँले बताउनुभयो ।
