पोखरा–दुबई उडानका दुई महिनामा १३ हजार चार सय बढी यात्रुले लिए सेवा

हिमाली आवाज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित व्यावसायिक उडान सुरु भएको दुई महिनामा १३ हजार ४७४ यात्रुले सेवा लिएका छन् ।

फ्लाइ दुबईले गत सेप्टेम्बर २३ (असोज ७) देखि सुरु गरेको दुबई–पोखरा–दुबई नियमित उडान मार्फत नोभेम्बर २३ (मङ्सिर ७) सम्म उक्त सङ्ख्यामा यात्रुले सेवा लिएका हुन् । यस अवधिमा ६१ पटक उडान र ६१ पटक अवतरण गरी कुल १२२ वटा उडान तथा अवतरण (एयरक्राफ्ट मुभमेन्ट) भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई महिनाको अवधिमा दुबईबाट पोखरा आउने यात्रुको सङ्ख्या आठ हजार ११५ रहेको छ । तीमध्ये एक हजार १५४ जना विदेशी नागरिक छन् ।
यसैगरी पोखराबाट दुबई जाने यात्रुको सङ्ख्या पाँच हजार ३५९ रहेको छ । तीमध्ये ९९८ जना विदेशी नागरिक छन् । समग्रमा विमानस्थलबाट सेवा लिने यात्रुमध्ये दुई हजार १५२ जना विदेशी नागरिक रहेका छन् । फ्लाइ दुबई पोखराबाट दैनिक एउटा उडान भर्दै आएको छ । यो उडान साँझमा सञ्चालन हुँदै आएको छ ।
महाप्रबन्धक निरौलाले पोखराबाट सुरु भएको अन्तर्राष्ट्रिय उडान सफलतापूर्वक सञ्चालन भइरहेको र यात्रुबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताउनुभयो ।
“फ्लाइ दुबईको उडान सफल रूपमा सञ्चालन भइरहेको छ । यस क्षेत्रका नागरिकले आफ्नै घरआँगनबाट अन्तर्राष्ट्रिय गन्तव्यमा जान पाउनुभएको छ । हामीले यात्रुबाट राम्रो प्रतिक्रिया पाएका छौँ ।” उहाँले भन्नुभयो ।
दुबईबाट पोखरा आउने र पोखराबाट बाहिरिने यात्रुको सङ्ख्या क्रमशः बढ्दै गएको उल्लेख गर्दै उहाँले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित र दीर्घकालीन बनाउन सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

“सबैको साथ र प्रयासबाट पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित र दीर्घकालीन बनाउन सकिने विश्वास छ । यसका लागि सरकारी तथा निजी क्षेत्रले मिलेर प्रवद्र्धनात्मक गतिविधि गर्नुपर्छ । ” निरौलाले भन्नुभयो ।

फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी ‘एमिरेट्स’मार्फत एउटै टिकटबाट विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधाले पोखरा–दुबई उडानको दीर्घकालीन सम्भावना बढाएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।
यसैगरी पोखरामानै भारतीय नागरिकका लागि ‘एनओसी’ सेवा प्रदान गर्न सकेमा अझै यस रुटमा यात्रुको सङ्ख्या बढ्ने श्रेष्ठ बताउनुहुन्छ । नेपालमा रहेका भारतीय नागरिकले नेपालबाट भारत बाहेक अन्य तेस्रो मुलुकमा हवाई यात्रा गर्दा भारतीय दूतावास काठमाडौँबाट ‘एनओसी’ प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ ।

“विशेषगरी भारतीय नागरिक पोखरा आएर दुबई फर्किंदा यहीनै एनओसी सुविधा भएको खण्डमा यो उडान अझ नियमित र प्रभावकारी हुन सक्छ । हामीले त्यसका भारतीय दूतावास समक्ष पहल गरिरहेका छौँ ।” श्रेष्ठले भन्नुभयो । विसं २०७९ पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । त्यस अवधिमा कहिलेकाहीँ चार्टर उडान भए पनि विमानस्थल मुख्यतः आन्तरिक उडानमा सीमित थियो ।

हाल पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेको छ भने आन्तरिकतर्फ पोखरा–काठमाडौँ दैनिक उडान हुँदै आएको छ । यसैगरी पोखराबाट भैरहवा र नेपालगञ्जका लागि सातामा तीन दिन उडान सञ्चालन हुँदै आएको छ ।

Comments
Loading...