स्याङ्जामा बर्डफ्लु रोग नियन्त्रण सम्वन्धी अन्तरक्रिया,उच्च सतर्कता अपनाइने

हिमाली आवाज । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, स्याङ्जाले बर्डफ्लु रोग नियन्त्रण सम्बन्धि अन्तरक्रिया गरेको छ । जाडो मौसम बढेसँगै बर्डफ्लू रोगको जोखिम बढ्ने भन्दै जिल्ला स्थितका सरोकारवालाहरुकाबीचमा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा कार्यालयका प्रमुख डा. ब्रजकिशोर ठाकुरले बर्डफ्लू रोगबाट विगतको प्रभाव, वर्तमान अवस्था र नियन्त्रणको रणनीति लगायतको बारेमा कार्यपत्र मार्पmत जानकारी दिनुभएको थियो । नेपालका २२ जिल्ला उच्च जोखिम, २१ जिल्ला मध्ययम र स्याङ्जा लगायतका ३४ जिल्ला कम जोखिमका जिल्ला रहेको प्रमुख ठाकुरले जानकारी दिनुभयो ।

स्याङ्जा कम जोखिमको जिल्ला भएपनि छिमेकी जिल्लाबाट भित्रिन सक्ने उत्तिकै जोखिम भएकाले यसबारे सचेतना फैलाउँन र सम्बन्धित पक्षसँगको सहकार्यमा नियन्त्रणमा लागिने प्रमुख ठाकुरले बताउनुभयो ।

कुखुरापालक किसान र मासु व्यसायीले आवश्यक मापदण्डको पूर्ण पालना गर्न अनुरोध गर्दै अनुगमनको संयन्त्र परिचालन गरि समय समयमा अनुगमन गरिने उहाको भनाई छ ।

कार्यक्रममा जिल्ला बर्डफ्लू रोग नियन्त्रण प्राविधिक समन्वय समितिका संयोजक एंव प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले जिल्लालाई बर्डफ्लूबाट सुरक्षित राख्न आवश्यक तयारी र आवश्यक सामाग्री तथा जनशक्ति व्यवस्थापनमा जुट्न निर्देशन दिनुभयो ।

प्रजिअ बस्नेतले चाडबाडको समयमा बाहिरबाट खशी, कुखुरा लागायत मासुजन्य बस्तुहरु भित्रिन सक्ने भएकाले नाका र व्यवसायको आवश्यक अनुगमन र निगरानीमा सर्तकता पूर्वक लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्मा, प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारी, नेपाल रेडक्रस सोसाइटीका मन्त्री दिनेश अर्याल, कार्यालयका कृषि प्राविधिक गोपाल गिरी, पुरुषोत्तम कोइराला, कुखुरा व्यवसायी मेघ प्रनेश लगायतले बर्डफ्लू नियन्त्रण र व्यवस्थापनमा सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

नेपालको सबैभन्दा ठूलो कुखुरा फर्म खिलुङ कालिका एग्रो फर्म सँगै जिल्लामा केन्द्रमा दर्ता भएर १८० वटा साना ठूला कुखुरा फर्म रहेको कार्यालयले जनाएको छ ।

Comments
Loading...