गण्डकीका यातायात व्यवसायीबाट बाढी पीडितलाई २७ लाख बढी सहयोग,कसले कति गरे सहयोग ?

हिमाली आवाज । गण्डकी प्रदेशमा क्रियाशील विभिन्न यातायात प्रालिहरुले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु २७ लाख ३५ हजार ८९५ सहयोग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिमा आवद्ध विभिन्न यातायात कम्पनी तथा समितिहरूबाट उक्त रकम सङ्कलन गरेर आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको महासङ्घ गण्डकी प्रदेश संयोजक महेश बहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश समितिले महासघ केन्द्रलाई बुझाएको सो सहयोग रकम आजनै महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साललाई महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला लगायतले हस्तान्तरण गर्नुभयो ।

महासंघ प्रदेश समितिका आवद्ध यातायात कम्पनी पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले रु १० लाख ११ हजार १११, पोखरा यातायात प्रालिले रु चार लाख र पोखरेली ट्याक्सी सेवा प्रालिले रु तीन लाख बाढी पीडितका लागि सहयोग गरेका छन् ।

यसैगरी धौलागिरी कालिका यातायात प्रालिले दुई लाख पाँच हजार ५५५, स्थानीय यातायात प्रालिले रु एक लाख ५१ हजार १११, बेगनासताल पोखरा यातायात प्रालिले रु एक लाख एकहजार १११, गोरखा दरौँदी यातायात रु एक लाख एक हजार १११, स्याङ्जा गण्डकी यातायात रु एक लाख एक हजार १११ तथा धौलागिरी गण्डकी यातायात प्रालिले रु एक लाख सहयोग गरेका छन् ।

यसैगरी एवन ग्रेटर नेपाल यातायात प्रालिले रु ५५ हजार ५५५, सिद्धबाबा यातायात सेवा प्रालिले रु ५१ हजार १११, मुस्ताङ मुक्तिनाथ यातायात प्रालिले रु ५१ हजार, धौलागिरी अञ्चल यातायात सेवा प्रालिले रु ५० हजार, तनहुँ व्यासभूमि यातायात प्रालिले रु ३६ हजार ६६६, लमजुङ कालिका यातायात सञ्चालक प्रालि, गण्डकी मम्फौला मिनीट्रक सञ्चालक समिति र गण्डकी ट्याक्टर तथा मिनीट्रक यातायात प्रालिले रु २५ हजार ५५५ का दरले सहयोग गरेको महासंघका सचिव अर्जुन पौडेलले जानकारी दिनुभयो ।

यसैगरी पोखरा फेवा यातायात प्रालिले रु २५ हजार र बागलुङ घुम्टे यातायात प्रालिले रु २० हजार कोषमा सहयोग गरेका छन् ।
गण्डकी प्रदेशमै क्रियाशील कास्कीको अन्नपूर्ण घोडेपानी घान्द्रुक यातायात प्रालिले यसअघिनैै रु एक लाख ११ हजार १११ र स्याङ्जा पर्वत यातायात प्रालिले रु २१ हजार जम्मा गरेको महासंघ गण्डकीले जनाएको छ ।

विपद्को समयमा यातायात व्यवसायीहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बाढी प्रभावित नागरिकको राहत तथा उद्धारमा गरेको सो सहयोग रकम प्रभावित नागरिकसम्म पुग्ने अपेक्षा गरिएको सचिव पौडेलले बताउनुभयो । समितिले सहयोग गर्ने सबै यातायात व्यवसायी तथा संस्थाप्रति धन्यवाद व्यक्त गरेको छ ।

Comments
Loading...