पोखरामा अन्तर क्लब राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

हिमाली आवाज । पोखरामा आगामी फागुन १७ देखी २६ गतेसम्म ‘सुपर जेनरल इन्टर क्लब टी–२० क्रिकेट’ प्रतियोगिता सञ्चालन हुने भएको छ ।

केएन स्पोर्टस् प्रालिको आयोजनामा क्रिकेट खेलको विकासका लागि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा क्लबस्तरीय राष्ट्रिय प्रतियोगिता गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक कमल थापाले बताउनुभयो ।

कोरोना कहरका कारण लामो समय क्रिकेट प्रतियोगिता नभएको अवस्थामा सो प्रतियोगिताले क्रिकेट खेलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् खेलाडी उत्पादनमा सघाउने विश्वास आयोजकको छ ।

‘खेल पर्यटन आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार’ को नारा सहित आयोजित प्रतियोगितामा गण्डकी प्रदेशका चार र वाग्मती प्रदेशका चार गरी आठ टोलीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा चितवन क्रिकेट टिम, सुपर जेनरल पोखरा–११, प्यालिगन्स तनहुँ, बाग्लुङ क्रिकेट क्लब, स्याङ्जा क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब काठमाडौँ, मिक्समाण्डु क्लब काठमाण्डौ र स्टन एकेडेमी चितवन सहभागी हुने निश्चित भएको प्रतियोगिता संयोजक थापाले जानकारी दिनुभयो ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगका आधारमा प्रतियोगिता खेलाइने र समूहको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार सहित ट्रफी, मेडल प्रमाणपत्र तथा द्धितीय टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गर्नेछन् ।

यसैगरी सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट व्याट्स्म्यानलाई छुट्टाछुट्टै रुपमा आकर्षक पुरस्कार प्रदान गरिने र हरेक खेलमा ‘म्यान अफ द म्याच’लाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाल क्रिकेट सङ्घ(क्यान)का केन्द्रीय सदस्य ऋषिराम गौतमले देशका सात वटै प्रदेशमा मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि क्यानले आफ्नो क्यालेण्डरमा राखेको जानकारी दिँदै प्रतियोगिताका लागि प्रदेश सरकार समक्ष प्रश्ताव पेश गरिएको जानकारी दिनुभयो ।

क्यानले राष्ट्रिय प्रशिक्षक सहित आफ्नै स्रोतबाट सबै प्रदेशमा एक÷एक जना क्रिकेटका प्रशिक्षक नियुक्त गरेको उहाँले बताउनुभयो ।
कोरोना कहरका कारण लामो समय खेलकूद गतिविधि ठप्प भएको पोखरामा पछिल्लो समय खेलकूद प्रतियोगिता सञ्चालन भएका छन् ।
माघ अन्तिम साता ‘टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता’ सम्पन्न भएकामा फागुनको पहिलोसाता मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन भएको थियो ।

यसैगरी वर्षेनी यहाँ आयोजना हुँदै आएको मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल पनि आगामी चैत पहिलो सातादेखी शुरु हुने तयारी छ ।लामो समय खेल गतिविधि रोकिएकामा प्रतियोगिता सञ्चालन हुन थालेपछि खेलाडी र प्रशिक्षक उत्साहित भएका छन् ।

Comments
Loading...