चैतको पूरै र त्यसपछिको आधा तलब पाइने, रोजगारदाता र युनियनबीच सहमति

काठमाडौं । रोजगारदाता संस्था र ट्रेड युनियनका प्रतिनिधिहरुबीच श्रमिकको पारिश्रमिक भुक्तानी गर्ने विषयमा सहमति भएको छ ।

रोजगारदाताको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ र ट्रेड युनियनका तर्फबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) आवद्व ट्रेड युनियन महासंघहरूबीच सोमबार सो विषमा सहमति भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालको समन्वयमा लामो समयदेखि औपचारिक एवं अनौपचारिक छलफल हुँदै आएकोमा मंगलबार त्यसबारे औपचारिक सहमति भएको हो । यसअघि महासंघका उपाध्यक्ष समेत ढकाललाई यस्तो समन्वय गर्ने जिम्मेवारी दिइएको थियो ।

यसअघि पनि महासंघ लगायतका रोजगारदाताले लकडाउनको समयमा व्यवसाय सञ्चालन नभएका उद्योग प्रतिष्ठानका श्रमिकलाई ५० प्रतिशत मात्रै तलब दिने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको थियो । महासंघको सुझावमा ट्रेड युनियन महासंघहरुले समेत सहमति जनाएका हुन् ।

सहमतिसँगै चैत महिनापछि लकडाउन अवधिसम्म व्यवसाय बन्द भएका वा काम नभएका श्रमिकले ५० प्रतिशत र व्यवसाय सञ्चालन भएका वा निरन्तर काम गर्दै आएका श्रमिकलाई साविक बमोजिम नै तलब भुक्तानी हुनेछ । चैत महिनाको भने सम्पूर्ण पारिश्रमिक भुक्तानी दिइनेछ ।

Comments
Loading...