कास्कीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता शुुरु

पोखरा,१३ साउन । जिल्लामा  राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिको वैयक्तिक तथा जैविक विवरण सङ्कलन गर्ने कार्य शुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय अन्तर्गत स्थापना गरिएको राष्ट्रिय परिचयपत्र विवरण दर्ता फिल्ड कार्यालयको उद्घाटन गरी परिचयपत्रका लागि विवरण सङ्कलन कार्य भइरहेको हो ।

प्रारम्भमा जिल्ला प्रशासनबाट नयाँ वा प्रतिलिपि नागरिकता प्रमाणपत्र वा राहदानी लिएपछि सो व्यक्ति र अभिभावक समेतको विवरण दर्ता गरिने र आगामी दिनमा सबै स्थानीय तहमा दर्ताको व्यवस्था हुने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।

हालका लागि परिचयपत्र प्राप्तिका १६ वर्ष उमेर पूरा गरेका र नागरिकता प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । परिचयपत्रका लागि विवरण दर्ता सङ्कलन गर्ने अभियानका रुपमा आवेदन फारम अनलाइन विधिबाट समेत भर्ने व्यवस्था रहेको बताइन्छ । राष्ट्रिय परिचयपत्रमा व्यक्तिको वैयक्तिक तथा जैविक विवरण सहित औँठा छाप(१० वटा औँला),फोटो,हस्ताक्षर र आँखाको रेटिना समावेश हुनेछन् ।

सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले राष्ट्रिय परिचयपत्रबाट शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न सघाउनुका साथै सार्वजनिक सेवाहरु काजग विहिन(पेपर लेस) हुँदै जाने र सार्वजनिक,नीजि तथा गैरसरकारी निकाय र सार्वजनिक संस्थाबाट हुने सेवा प्रवाह प्रविधिमैत्री बनाउन सघाउ पुग्ने बताए ।

नेपाली नागरिकताको प्रमाणपत्रको कमिकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्य सहित नेपाल सरकारको आर्थिक वर्ष २०६६÷६७ को वार्षिक नीति कार्यक्रम तथा बजेटमा नेपाली नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र (बायोमेट्रिक स्मार्ट कार्ड) उपलब्ध गराउने योजना ल्याएको थियो ।

Comments
Loading...