बाढी पहिरोमा परी गण्डकी प्रदेशमा ७८ जनाले ज्यान गुमाए, आठ बेपत्ता

आठ जना बेपत्ता छन् भने ६८ घाइते भएका छन् ।

पोखरा,१३ साउन । गण्डकी प्रदेशमा बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परी ७८ जनाको मृत्यु भएको छ । त्यसरी ज्यान गुमाउनेमा महिला बढी छन् ।

पहिरामा परी ४० महिला र ३८ पुरुषको मत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यसैगरी आठ जना बेपत्ता छन् भने ६८ घाइते भएका छन् ।

प्रदेशका ११ जिल्ला मध्य बाढी पहिराबाट म्याग्दीमा सबैभन्दा बढीले ज्यान गुमाएका छन् । म्याग्दीमा १६ महिला र १५ पुुरुषको मृत्यु भएको छ भने चार महिला बेपत्ता छन् ।

त्यसैगरी तनहुँमा आठ महिला र पाँच पुरुषको मृत्यु तथा एक बेपत्ता तथा कास्कीमा पाँच पुरुष र पाँच महिला गरी बाढी पहिराका कारणबाट १० जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

लमजुङमा एक महिला तथा तीन पुरुष, स्याङ्जामा एक महिला र चार पुरुषको मृत्यु तथा एक पुरुष बेपत्ता छन् । गोर्खामा एक महिला एक पुरुषको मृत्यु तथा अर्का एक पुरुष बेपत्ता छन् ।

पर्वतमा छ महिला र तीन पुरुषको मृत्यु भएको छ भने नवलपरासी पुर्वमा एक महिला र एक पुरुषले ज्यान गुमाएका छन् ।
बाग्लुङमा एक महिला र एक पुरुषको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन् । प्रदेशका मनाङ र मुस्ताङमा भने हालम्म प्राकृतिक विपत्तिका घटनाबाट मानवीय क्षति नभएको बताइन्छ ।

कास्कीमा सात महिला र पाँच पुरुष गरी १२ जना पहिरामा परी घाइते भएको प्रनाउ रेग्मीले जानकारी दिए । त्यसैगरी लमजुङमा ११ महिला र १२ पुरुष गरी २३ तथा म्याग्दीमा छ महिला सात पुरुष गरी १३ जना घाइते छन् ।

स्याङ्जामा आठ पुरुष र दुई महिला, तनहुँमा तीन महिला तथा चार पुरुष, पर्वतमा एक पुरुष र बाग्लुङमा एक÷एक महिला पुरुष बाढी पहिरामा परी घाइते भएको कार्यालयले जनाएको छ ।

Comments
Loading...