बन्दाबन्दीले राजश्व सङ्कलन प्रभावित, लक्ष्य भन्दा २८ प्रतिशत कम

पोखरा,१३ साउन । आन्तरिक राजश्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०७६÷०७७ मा लक्ष्य भन्दा एक अर्व ५८ करोड ५६ लाख कम राजश्व सङ्कलन गरेको छ । जून लक्ष्यको २८ प्रतिशत कम हो ।

गण्डकी प्रदेशको राजधानी शहरमा अवस्थित कार्यालयले सो वर्षमा विभिन्न शीर्षकबाट रु पाँच अर्व ६१ करोड ६७ लाख उठाउने लक्ष्य राखेकामा रु चार अर्व तीन करोड ११ लाख मात्र राजश्व सङ्कलन गर्न सक्यो । कार्यालयले लक्ष्यको ७२ प्रतिशत मात्र राजश्व उठाउन सफल भएको कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विजय लामिछानेले जानकारी दिए ।

आर्थिक वर्ष २०७५।०७६ मा कार्यालयले रु पाँच अर्व ७६ करोड लक्ष्य राखेकामा ९२ प्रतिशत अर्थात रु पाँच अर्व २९ करोड राजश्व दाखिला भएको थियो ।कास्की सहित स्याङ्जा जिल्ला कार्यक्षेत्र रहेको कार्यालयलाई राजश्वको लक्ष्य भेट्टाउन कोभिड–१९ रोकथामका लागि जारी बन्दाबन्दीले प्रभावित बनाएको बताइन्छ ।

“चैतदेखी जेठ तीन महिना बन्दाबन्दीमा थियौँ, असारमा समेत कर तिर्न म्यान्डेटरी( अनिवार्य कानूनी व्यवस्था) थिएन ।”कर अधिकृत लामिछानेले भने,“असारमा करदाताको उत्साहजनक सहभागीता रहेपनि राजश्वमा बन्दाबन्दीका कारण अपेक्षाकृत सहभागीता भएन, लक्ष्य पूरा गर्न सकिएन ।”

कार्यालयले आयकरबाट सर्वाधिक रु दुई अर्व १५ करोड चार लाख ५६ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्ष आयकर रु तीन अर्व ३२ करोड १३ लाख ४३ हजार उठाउने लक्ष्य राखिएको थियो ।

त्यसैगरी मुल्य अभिवृद्धि कर(भ्याट) बाट रु एक अर्व ३५ करोड २९ लाख ३६ हजार,अन्तःशुल्क रु २१ करोड ५५ लाख ४९ हजार, ब्याजकरबाट रु २५ करोड ५० लाख १५ हजार, घरभाडा कर रु पाँच करोड ३५ लाख ५८ हजार, स्वास्थ्य सेवा कर रु १९ लाख ६३ हजर तथा शिक्षा सेवा करबाट रु १६ लाख ४५ हजार राजश्व सङ्कलन भएको कार्र्यालयले जनाएको छ ।

Comments
Loading...