बराह माविको चार कोठाको पक्की भवन शिलान्यास

पोखरा,१ भदौ । जिल्लाको माछापुच्छ«े गाउँपालिका–६ भिँडाबारीमा अवस्थित बराह माध्यमिक विद्यालयमा चार कोठाको नयाँ भवन बन्ने भएको छ ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ(शिक्षा) अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ कास्कीको रु ७० लाख लागतमा निर्माण गर्न लागिएको भवनको आज जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री,गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले शिलान्यास गरेका हुन्।

कार्यक्रममा समन्वय प्रमुख अधिकारीले भौतिक पूर्वाधार निर्माण मात्र शैक्षिक क्षेत्रको उन्नयन नभएकाले अध्ययन अध्यापनका साथै शैक्षिक क्रियाकलापलाई बढी जोड दिनुपर्ने बताए ।

उनले भने,“धेरै विद्यालयमा भवन बन्ने तर विद्यार्थी कम हुँदै जाने अवस्था छ । सामुदायिक विद्यालयमा ठूलो शैक्षिक लगानी हुँदा समेत शैक्षिक गुणस्तर अघि बढ्न नसक्नु विडम्वना हो ।”

अधिकारीले सडक, खानेपानी,सिँचाई लगायतका पूर्वाधार विकाससँगै समृद्ध नेपाल,सुःखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि शिक्षा क्षेत्रको विकास मेरुदण्डको रुपमा रहेको स्पष्ट पार्दै गुणस्तरीय हिसावले तोकिएको समयभित्रमानै निर्माणको काम सम्पन्न गर्न विद्यालयलाई निर्देशन दिए ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले पुनर्निमाण प्राधिकरण अन्तर्गत स्थानीय तहमा निर्माणाधीन भवनहरुको अनुगमनको व्यवस्था सम्वन्धित स्थानीय सरकारलाई दिन माग गरे ।

विद्यालयमा पूर्वाधार छनोटका लागि भूमिका प्राप्त भएपनि गुणस्तर मापन तथा अनुगमनको जिम्मेवारी स्थानीय सरकारलाई भएमा गुणस्तरीय काम हुने र अनियमितताका विषय नआउने उनको भनाई छ ।

कामको गुणस्तरका लागि सरकारले सार्वजनिक खरीद ऐनलाई समेत पन्छाएर पूर्वाधार निर्माणको जिम्मेवारी सम्वन्धित विद्यालयलाई दिएकाले कुनै पनि विकृति आउन नदिई जिम्मेवार भएर समयमै काम सम्पन्न गर्न गाउँपालिका अध्यक्ष गुरुङले आग्रह गरे ।

विसं २०२४ मा स्थापना भएको सो विद्यालयमा कक्षा एक देखी १२ सम्म पढाई हुँदै आएकामा हाल ४०० विद्यार्थी अध्ययनरत छन् ।विद्यालयले विसं २०५८ देखी सिटिइभीटिको सम्वन्धनबाट प्राविधिक शिक्षातर्फ भेटेनेरी र बालीतर्फ जेटिए १८ महिने कोर्सको पढाई गर्दै आएको छ ।

त्यसैगरी विद्यालयमा विसं २०७२ बाट सिटिइभिटी अन्तर्गतकै तीन वर्षे भेटेनेरी प्रमाणपत्रतहको कक्षा सञ्चालन हुँदै आएको विद्यालयका प्रधानाध्यापक नरबहादुर गुरुङले जानकारी दिए ।विद्यालयको मुख्य भवन जीर्ण भई कक्षा सञ्चालनमा समस्या आएकामा पुर्नःनिर्माण प्राधिकरणबाट पक्की भवन बनाउने कार्यक्रम शुरु भएपछि प्राविधिक कक्षा सञ्चालनमा सहयोग पुग्ने प्रअ गुरुङले बताए ।

कार्यक्रममा जिल्ला आयोजना इकाइ प्रमुख लालप्रसाद पोखरेल, इन्जिीनियर प्रभात लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र गौतम लगायतले निर्माण कार्य तोकिएको समय पुस १५ भित्रमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

Comments
Loading...