पाँच महिनापछि नेकपा कास्कीका गाउँपालिका अध्यक्ष र सचिवले लिए शपथ

पोखरा,२ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कास्कीका चारवटै गाउँपालिका अध्यक्ष र सचिवले सोमबार शपथ लिएका छन् ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं पार्टी प्रदेश कमिटीका इन्चार्ज पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा जिल्ला अध्यक्ष कृष्ण थापाले पार्टी कार्यालयमा  पद तथा गोपनियताको शपथ गराएका थिए ।

स्थानीय तहमा नेतृत्व चयन भएको पाँच महिनापछि अध्यक्ष र सचिवले शपथ लिएका हुन् । गत फागुन २१ गतेको पार्टी जिल्ला कमिटी बैठकले चार वटै गाँपालिकामा पार्टीको नेतृत्व चयन गरेको थियो ।

नेकपाको मादी गाउँपालिका कमिटीको अध्यक्षमा कृष्ण दाहाल तथा सचिव पदमप्रसाद पौडेल तथा रुपामा अध्यक्ष सवाबक्स मियाँ तथा सचिव नवराज बराल छन् ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिका अध्यक्षमा धर्मप्रसाद तमु र सचिव लक्ष्मीप्रसाद अधिकारी तथा माछापुच्छ«े गाउँपालिका कमिटी अध्यक्षमा जगन्नाथ बाँस्तोला र सचिव वैकुण्ठप्रसाद भण्डारीले नेतृत्व पाएका छन् ।

साबिक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएर नेकपा गठनको लामो समयपछि कास्कीमा पार्टी कमिटी एकीकरण प्रक्रियाले पूर्णता पाएको हो ।
चार गाउँपालिका मध्य रुपा र माछापुच्छ्रेको नेतृत्व पूर्व एमाले तथा मादी र अन्नपूर्णको नेतृत्व पूर्व माओवादीले पाएको थियो ।पाँच स्थानीय तह रहेको जिल्लामा पोखरा महानगर कमिटीका अध्यक्ष र सचिव भने गत असोजमै चयन भएका थिए ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले पार्टी एकीकरणका अधिकाँस काम पूरा भएकाले अव पार्टीका गतिविधिहरु तल्लो तहसम्म सञ्चालन गर्दै जनतासँग जोडिनुपर्ने बताए ।

सरकारले गरेका कामहरुका बारेमा जनतालाई अवगत गराउने र जनताले भोग्नु परेका समस्याका बारेमा सरकारसम्म ल्याएर नेता कार्यकर्ता जनताको सेवा जुट्न उनले निर्देशन दिए ।

पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङ(करण)ले पार्टीमा उत्पन्न सबै खालका विवादलाई समाधान गरेर विचारका आधारमा पार्टी र पार्टीले सरकार सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला अध्यक्ष थापा सचिव बखानसिँह गुरुङ लगायतले पार्टी कमिटीलाई प्रभावकारी ढंगबाट परिचालन गरिने बताएका थिए ।
कृष्ण दवाडी,पोखरा

Comments
Loading...