पोखराका दुई यूवा ठूलो परीमाणमा लागूऔषध गाँजा सहित पक्राउ

पोखरा,५ भदौ ।  प्रहरीले लागूऔषध गाँजा सहित पोखराबाट दुई जनालाई पक्राउ गरेको छ ।

गएराति पोखरा–२७ ज्यामिरेकुनाबाट सोही वडाको अर्घौचोक बस्ने २३ वर्षीय सन्दीप विक र २९ वर्षीय किशोर तिमिल्सनालाई लागूऔषध सहित पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय हंशपुरबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा आरोपित विकले चलाई ल्याएको ग५प ५८७९नंको  मोटरसाइकलमा सवार उनीहरुको साथबाट २० ग्राम र सोधपुछको क्रममा विकको कोठाबाट एक किलो ४४० ग्राम सहित एक हजार ४६० ग्राम गाँजा, मोबाईल थान दुई र मोटरसाइकल नियन्त्रणमा लिइएको प्रनाउ हमालले बताए ।

पक्राउ परेका दुबै जनालाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट १७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखराको विभिन्न स्थानमा लागूऔषध गाँजा बिक्रीबितरण, ओसारपसार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको बताइन्छ ।

Comments
Loading...