कोरोना नियन्त्रणमा गण्डकी प्रदेश सरकारको साढे १४ करोड खर्च

पोखरा,५ भदौ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणमा गण्डकी प्रदेश सरकारले १४ करोड ५४ लाख खर्च गरेको छ । सो रकम गत साउन मसान्तसम्मको हो ।

संघीय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी कोरोना नियन्त्रणमा भएको हालसम्मको खर्च सार्वजनिक गरेका हुन् । प्रदेश सरकारहरुले अहिलेसम्म एक अर्व तीन करोड कोरोना नियन्त्रणका नाममा खर्च गरेका छन् ।

अन्य प्रदेश सरकारको खर्चमा प्रदेश १ ले २० करोड ७१ लाख, प्रदेश २ ले १७ करोड २ लाख, बागमती प्रदेशले १३ करोड ६७ लाख, प्रदेश ५ ले १० करोड ५९ लाख, कर्णाली प्रदेशले २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशले ४२ करोड ४८ लाख खर्च गरेको समेत जनाइएको छ ।

मन्त्री खतिवडाले तीनवटै सरकारबाट गरी हालसम्म कोरोनाका लागि १३ अर्ब ३६ करोड रुपैयाँ खर्च भएको जानकारी दिए । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत साउन मसान्तसम्म गरी सो रकम खर्च भएको उनको भनाई छ ।

सो खर्चमध्ये संघीय सरकारका तर्फबाट ५ अर्ब ८५ करोड, प्रदेश सरकारको तर्फबाट १ अर्ब ३ करोड र स्थानीय तहहरुबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको जनाइएको छ ।

संघीय सरकारले खर्च गरेको रकममध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख, शहरी विकास मन्त्रालयबाट १ करोड, कोरोना कोषबाट १ अर्ब ३ करोड रुपैयाँखर्च भएको छ । कोरोना कोषबाट खर्च भएको रकम भने प्रदेश र स्थानीय तहमा समेत बताइन्छ ।

यस्तो खर्च औषधि र स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य क्षेत्रमा खर्च भएको उल्लेख गरिएको छ ।

Comments
Loading...