गण्डकी प्रदेशका ९० प्रतिशत सङ्क्रमित निको भए

पोखरा,३१ साउन । गण्डकी प्रदेशमा कोरोना संक्रमितको निको हुने दर उच्च रहेको छ । हालसम्म प्रदेशको निको हुने दर ८९ दशमलव ३१ प्रतिशत रहेको छ ।

प्रदेशमा आजसम्म एक हजार ७०३ जना सङ्क्रमित भएकामा एक हजार ५२१ जना निको भएका छन् । सङ्क्रमित मध्यमा १७७ जना विभिन्न जिल्लास्थित आइसोलेसन कक्षमा उपचार गराइरहेका छन् भने पाँच जनाको कोरोनाका कारणले मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सक्रिय केसको प्रतिशत नौ दशमलव ३३ रहेको छ भने मृत्यु हुने प्रतिशत शुन्य दशमलव ३० छ ।

म्याग्दीमा ४८ जना सङ्क्रमित रहेकामा सबै जना निको भएपछि घर फर्किका छन् । म्याग्दीमा सक्रिय विरामी छैनन् । कास्कीमा २०८ जना सङ्क्रमित भएकामा १४५ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने सक्रिय केस ६२ जना छन् । कास्कीमा एक जनाको मृत्यु भएको छ ।

पर्वतमा १०४ सङ्क्रमित भएकामा ९८ जना निको भए भने छ जनाको उपचार भइरहेको छ । बाग्लुङमा २६७ सङ्क्रमितमा २४५ निको भए भने २१ जनाको उपचार जारी रहँदा एक जनाको ज्यान गएको छ । स्याङ्जामा २९९ मध्यमा २५६ उपचारपछि घर फर्किएका छन् । जिल्लामा ४१ जनाको उपचार भइरहँदा दुई जनाको मृत्यु भएको छ ।

नवलपरासी पूर्वमा ३३४ मा ३२६ निको भएका छन् भने आठ जनाको उपचार भइरहेको तथा तनहुँमा २१२ सङ्क्रमित हुँदा १८० निको भए भने ३२ जनाको उपचार भइरहेको छ । गोखरामा ११७ जना सङ्क्रमित रहेकामा ११२ जना उपचारपछि घर फकिएका छन् । चार जनाको उपचार जारी रहँदा एक जनाको कोरोनाका कारणबाट ज्यान गएको छ ।

लमजुङमा ११३ जनामा १०९ निको भएका छन् भने चार जनाको उपचार जारी छ । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने एक÷एक जना सङ्क्रमित भएका दुबै जना उपचारपछि निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशका मुस्ताङ बाहेकका १० जिल्लामा गरी एक हजार ११२ जना क्वारेन्टिनमा रहेका छन् ।

Comments
Loading...