रेग्मीको अभिव्यक्ति समग्र पर्वतीय पर्यटनको अपमान : चेम्वर

पोखरा, १६ भदौ
पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गतको पर्यटन विभागले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले समग्र पर्वतीय पर्यटन क्षेत्रका व्यवसायीहरुको अपमान हुने गरी दिएको अभिव्यक्ति प्रति आपत्ति प्रकट गरेको छ ।

विभागले त्यस्ता अभिव्यक्तिलाई सच्याउन र पर्यटनको उच्च ओहोदामा बस्ने व्यक्तिलाई आगामी दिनमा पर्यटन व्यवसायीहरुको मान मर्दन नगर्न सचेत गराएको छ । पर्यटन विभागका संयोजक रेशम अधिकारीले मंगलबार प्रेस विज्ञप्ति प्रकासित गरी पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीको अभिव्यक्तिले पदयात्रा, हिमाल आरोहण लगायत पर्वतीय पर्यटन व्यवसायमा आसाको दियो पलाउनुको सट्टा निरासा छाएको प्रतिक्रिया दिनु भएको छ ।

विज्ञप्तिमा पर्यटन क्षेत्रमा लगनशिल भई लगानी गरेका पर्यटन व्यवसायीको मनोभावना बुझ्न पर्ने व्यक्तिले आपत्तीजनक अभिव्यक्ति दिएको भन्दै घोर भ्रत्सना गरिएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले गत भदौ १२ गतेको बिबिसी नेपाली सेवाको पर्यटन बहस कार्यक्रममा प्रर्वतीय पर्यटन क्षेत्रका व्यवसायीलाई लक्षित गरी झोले कम्पनीबाट काम गर्ने, राज्यलाई कर नतिर्ने तथा राज्य प्रति नगन्य योगदान रहेका भनी अभिव्यक्ति दिएका थिए ।

‘वर्तमान परिस्थितिमा कोभिड १९को मारमा परेका पर्यटन व्यवसायीहरु सबैको मनोभावनालाई बुझेर वहस पैरवी गर्नु पर्ने व्यक्तिको अभिव्यक्तिले व्यवसायीको काटेको घाउमा झनै नुनचुक दल्ने काम गरेको छ, ‘प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विषम परिस्थितिमा सकारात्मक सोंच र सबै वर्ग९व्यवसायी मजदुर०को हक हितमा मलम पट्टी लगाउने खालको अभिव्यक्ति दिन सचेत गराउछौं ।’ पोखरा चेम्बर अफ कमर्स कास्की पर्यटन विभागले पर्यटनको उच्च ओहोदामा रहने व्यक्तिलाई समय सान्दर्भिक अभिव्यक्ति दिन सचेत गराएको छ ।

 

Comments
Loading...