पोखरामा जोर विजोर अवज्ञा गर्ने ६०० सवारी नियन्त्रणमा

पोखरा,१८ भदौ । कोरोना सङ्क्रमण रोक्ने उद्धेश्यले पोखरामा यातायातमा लागू गरिएको जोर विजोर अवज्ञा गर्ने सवारी ट्राफिक प्रहरीले ‘होल्ड’मा राख्ने गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले गत भदौ १२ गते राति १२ बजेदेखी २० गतेसम्म मानिसको भीडभाड कम गर्न जिल्लामा जोर गते जोर नम्वर र विजोर गते विजोर नम्वरका सवारी साधन विहान ६ः०० बजेदेखी साँझ ८ः०० बजेसम्म सञ्चालन गर्नेे आदेश जारी गरेको थियो ।

प्रशासनको आदेश अवज्ञा गरी सञ्चालन भएका हालसम्म निजी गाडी, ट्याक्सी, लगायतका ६०० सवारीलाई कारवाही स्वरुप यथास्थानमा ‘होल्ड’गरी साँझमात्र छाड्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

बुधबार निजी सवारी र ट्याक्सी गरी ८० वटा नियन्त्रणमा लिइएको जनाइएको छ ।महेन्द्रपुल, चिप्लेढुङ्गा, सिर्जनाचोक, पृथ्वीचोक तथा सभागृहचोक लगायतका मुख्य बजारमा प्रहरीले गाडी नियन्त्रणमा लिने गरेको छ ।

“शुरुआतका एक÷दुई सम्झाई बुझाई गर्ने तथा आदेशको जानकारी पूर्ण रुपमा नभएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी १०÷१५ मिनेट होल्ड गर्र्ने गरेका थियौँ ।” ट्राफिक प्रमुख रोकाले भने,“अहिले अवज्ञा गर्नेहरुलाई साँझ सम्म रोकेर जोर विजोरको आदेशको कडाईका साथ कार्यान्वयन गरिएको छ ।”

पोखरामा मोटरसाइकलमा भने जोर विजोर लागू गरिएको छैन । दुई पाङ्ग्रेमा भन्दा पनि चार पाङ्ग्रे सवारीमा आदेश कार्यान्वयनमा ट्राफिक प्रहरीको जोड रहेको कार्यालयले जनाएको छ ।

जोर विजोरका आधारमा निजी तथा ट्याक्सी सञ्चालन भएपछि यात्रुबाहक सवारी साधनहर बस तथा मोइक्रोबस भदौ २० गतेसम्म सञ्चालनमा रोक लगाइएको छ ।

Comments
Loading...