पोखरामा मनाइयो वासु स्मृति दिवस,सप्ताहव्यापी रक्तदान समापन

पोखरा,२३ भदौ । राष्ट्रिय युवा संघ नेपाल कास्कीको आयोजनामा पोखरामा २१ औँ सुरेश वाग्ले(वासु) र भीमसेन पोखरेल(वैरागी)को स्मृति दिवस मनाएको छ ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा शहीद गोर्खामा शहीद भएका दुबै जनाको स्मृतिमा युवा संघले आयोजना गरेको सप्ताहव्यापी रक्तदान कार्यक्रमको समापन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का गण्डकी प्रदेश कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले शहीदद्धयको बलिदान वर्ग संघर्ष र निष्ठाको प्रतिक रहेको बताउँदै वासुु जहिले पनि अवसरबादका विरोधी र दुरगामी नेता रहेको स्मरण गरे ।

जनयुद्धका फौजी कारवाहीहरुमा मुख्यत युवाहरुको सहभागिता रहेको बताउँदै उनले अहिले पार्टीमा नेताका अगाडी राम्रो कुरा गर्ने तर पछाडी उछितो काट्ने प्रवित्ति मौलाएकामा चिन्ता व्यक्त गरे । नेकपा प्रदेश कमिटीका सचिव गोविन्दबहादुर नेपालीले पार्टीमा अझै पनि सामन्तवाद हावी रहेको बताउँदै युवाहरुले गुटवन्दीको सशक्त विरोध गर्नुपर्ने खाँचो औल्याए ।

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले शहीदहरुको सपना पूरा गर्न सकेमात्र उनीहरु सच्चा श्रद्धाञ्जली हुने भनाई राखे ।शहीदहरुको स्मृतिमा राष्ट्रिय युवा संघले गत भदौ १३ गतेदेखी पोखरामा सप्ताहव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

कोरोना महामारीमा पनि आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्वन गरी गरिएको कार्यक्रमबाट २१२ युनिट रगत संकलन भएको राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष भोजराज पौडेलले बताए ।

“हामीले अहिलेको महामारीमा पनि आयोजना गरेको कार्यक्रम सफल भएको छ । अस्पतालमाहरुमा देखिएको रगत अभावलाई यसले पूर्ति गरेको छ ।” संयोजक पौडेलले भने ।

Comments
Loading...