माछापुच्छ्रे खोराकोमुख पहिरो पीडितलाई रु तीन लाख सहयोग

पोखरा,२४ भदौ । कास्कीको माछापुच्छ«े गाउँपालिका–८ खोराकोमुख पाखामा गत साउन २ गते विहान गएको पहिरोमा परी मृत्यु भएकाहरुको परिवारलाई राहतस्वरुप आज आर्थिक सहयोग प्रदान गरिएको छ ।

मर्दिखोला सेवा समिति हङकङ र मर्दिखोला आमा समूहको नेतृत्वमा हङकङस्थित नेपालीहरुबाट सङ्कलित रु तीन लाख पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।खोराकोमुखको सो पहिरोमा परि स्थानीय प्रेमराज विकका १४ र १६ वर्षीय दुई नाति तथा १६ वर्षीया नातिनी गरी तीन जनाको मृत्यु भएको थियो ।

मर्दीखोला सेवा समिति हङकङका महिला विभागका कोषाध्यक्ष सिर्जना गुरुङ र सह–कोषाध्यक्ष तुलसी गुरुङले मृतकका हजुरबुबा र आमा÷बुबालाई राहत रकम हस्तान्तरण गरेका थिए ।अकल्पनीय घटनाबाट आफूहरुमा गहिरो चोट परेको अवस्थामा आफ्नै घर गाउँका छोराछोरीहरुले हङकङमा दुःख गरेर कमाएको रकम सहयोग गरेर दुःखेको घाउमा मलमपट्टी लगाउने काम गरेको विकले बताए ।

कोषाध्यक्ष गुरुङले पीडामा साथ दिन सहयोग गरिएको बताउँदै रकम संकलनमा खटिने समाजका अध्यक्ष रक्षा गुरुङ्ग, सचिब रामजी पौडेल र कार्य समिति सदस्यहरु, महिला बिभागका अध्यक्ष राम कुमारी गुरुङ्गज्यु (मोती), उपअध्यक्ष नानी कमला गुरुङ, सचिब लक्ष्मी गुरुङ्ग, कार्यसमिती सदस्य तिर्थ गुरुङ लगायत सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गरिन् ।

मर्दिखोला सेवा समिति हङकङले मर्दिखोला भेगमा विभिन्न सामाजिक कार्य लगायत भईपरि आउने विभिन्न आपत विपत, प्रकृतिक प्रकोपहरुमा सहयोग गर्दै आईरहेको छ ।

Comments
Loading...