कास्कीको मेलबोट–सिदिङ सडकको ढलान गुणस्तरहिन !

पोखरा,२८ भदौ । राष्ट्रिय पुर्नःनिर्माण प्राधिकरणबाट निर्माणाधीन पोखरा महानगरपालिका–२५ मेलवोटदेखी माछापुच्छ्रे गाउँपालिकाको सिदिङसम्मको सडकमा अहिले भइरहेको ढलान गुणस्तरीय नभएको प्राविधिकले बताएका छन् ।

शनिबार सोही क्षेत्रमा पुगेका एक प्राविधिकले आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै हिमाली आवाज डटकमसँगको कुराकानीमा पुरुनचौर जाने पुलभन्दा माथि अहिले भइरहेको ढलानमा मापदण्ड पूरा नभएको र गुणस्तरहिन काम भएको बताए ।

माछापुच्छ्रे गाउँपालिकाको ‘लाइफ लाइन’का रुपमा रहेको सडकमा ढलानका क्रममा गिटी जस्तो स–साना ढुँगाले सोलिङ गरिएको भन्दै उनले ठेकेदारले मनलाग्दी गरेको उल्लेख गरे । सडकको अनुगमन नहुँदा निर्माण कम्पनीले बदमासी गरेको भन्दै उनले एउटै ढुँगाको १५ सेन्टीको सोलिङ हुनुपर्नेमा ढुँगा माथि ढुुँगा थपेर १५ सेन्टी पु¥याइएको उनको भनाई छ ।

“सडक ढलानमा उनीहरुले १५ सेन्टी पु¥याएका छन् तर ग्राभेल ल्याएर ग्राभेलबाट निस्किएको सेता ढुँगा माथि ढुँगा थपिएको रहेछ ।” ती प्राविधिकले भने,“एउटै ढुँगा(बोल्डर) १५ सेन्टीको ठडाएर राख्ने गरी सरकारले पैसा दिएको हुन्छ । यस्तो कमसल सामग्री हालेर ठूला ठूला टिप्पर हिँड्ने सडकको सोलिङले कसरी धान्न सक्छ ?”

उनले सोलिङका क्रममा कुनै ठाउँमा १२ सेन्टी पनि हुनभएकाले त्यस्तो ठाँउमा तलबाट सर्पोट दिएर १५ सेन्टी बनाउन सकिएपनि सबै ठाउँमा कमसल सामग्री प्रयोग गर्दा लोड गाडी हिँड्दा सोलिङ केही समयमै हल्लिने र बाटो जीर्ण हुने बताए ।

राष्ट्रिय पुर्नःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइ कास्कीका आयोजना प्रमुख नवराज शर्माले यसबारेमा तुरुन्तै प्राविधिकहरुलाई पठाउने र अनुगमन गर्ने बताए ।

उनले भने,“कमसल काम गर्नु हुँदैन म आजनै प्राविधिकहरुलाई पठाएर ढुँगाको मोटाइ नाप्न लगाउँछु ।”आयोजना प्रमुख शर्माले सो सडक खण्डमा अन्यत्र भने कुनै पनि समस्या नरहेको दावी गरे ।

Comments
Loading...