मलामी गएर होम क्वारेन्टिनमा बसेका एक जनामा कोरोना संक्रमण

पोखरा,४ असोज । पोखरामा गत भदौ २६ गते दाहसंस्कारपछि कोरोना पुष्टि भएकी महिलाको अन्त्येष्टिमा सहभागी एक जनामा कोरोना संक्रमण देखिएको छ ।

पोखरा महानगरपालिका–५ की ४५ वर्षीया महिलाको मलामी गएका माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका ५७ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मृतक महिलाको परिवारजन, आफन्त तथा अधिकाँस मलामीको कोरोना रिपोर्ट नेगेटिभ आएपनि एक जना ती पुरुषलाई मात्र कोरोना देखिएको हो ।

मलामीमा गएर फर्किएपछि होम क्वारेन्टिनमा बसेका उनी लगायत २७ जनाको गत बुधबार स्वाब संकलन गरिएको थियो । अन्यको नतिजा नेगेटिभ आएपनि उनको आज रिपोर्र्ट पोजिटिभ आएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । ती पुरुष दमको बिरामी भएको बताइन्छ ।

यसअघि परिवारका सदस्यहरु, आफन्त तथा अस्पतालमा बिरामी भेट्न गएका गरी पहिलो चरणमा २२ जनाको नमूना संकलन गरिएकामा सबैको नतिजा नेगेटिभ आएको थियो ।

मलामी गएका अझै केहीको नतिजा आउन बाँकी रहेको माछापुच्छ्रे गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गोविन्द प्रसाद आचार्यले जानकारी दिए । धितालका १८ जनाको रिपोेर्ट आउन बाँकी छ । त्यसैगरी आज कास्कीमा छ जना कोरोनासंक्रमित थपिएको निर्देशनालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Comments
Loading...