बढ्दो बजारीकरणलाई लक्षित गरी बागमारामा किरियापुत्री भवन

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ३३ बागमारामा बढ्दो शहरीकरणलाई लक्षित गरी महाकाली टोल विकास संस्थाको विशेष सक्रियतामा किरियापुत्री भवन निर्माण गरिएको छ ।

बढ्दो बजारीकरणसँगै वर्षेनी बस्ती विकासको क्रमले गति लिएको बागमारामा मृत्युपश्चात गरिने काजकृयामा सहयोग पु¥याउने लक्ष्यका साथ किरियापुत्री भवन निर्माण गरिएको हो ।

बागमाराको रात्ले पाखामा हरिप्रसाद गौतमको परिवारले भोगचलन गर्दै आएको लगभग चार आना जग्गा किरियापुत्री भवन निर्माणका लागि टोल विकास संस्थालाई सहयोग गरिएको किरियापुत्री भवन निर्माण समितिका अध्यक्ष बलराम अधिकारीले जानकारी दिए ।अधिकारीका अनुसार कुल तीन लाख १५ हजार रुपैयाँको लागतमा निर्मित भवनमा ट्रष्ट सहित एक कोठा, स्नानगृह र शौचालय रहेको छ ।

“बजारीकरणसँगै विभिन्न सेवा पेशा व्यवसाय गर्ने व्यक्तिहरू बागमारामा भाडामा बस्ने क्रम पनि दिनानुदिन बढीरहेको छ,” उनले भने, “भाडामा बस्दै आएका व्यक्तिलाई परिवारका कोही सदस्यको निधन भएका अवस्थामा काजकिरिया कहाँ बसेर गर्ने भन्ने समस्यामा पनि भवन सहयोगी बन्ने विश्वास लिएका छौं ।”

भवनमा पानीको व्यवस्थापन लगायतका आवश्यक कुराहरू मिलाइएको उनले बताए । भवन निर्माणका लागि पोखरा महानगरपालिकाबाट ६० हजार रुपैयाँ, महाकाली टोल विकास संस्थाबाट ५० हजार, तोरीचौर आमा समूहबाट ११ हजार, महाकाली मन्दिर कोष र रात्ले खानेपानी उपभोक्ता समितिबाट १०÷१० हजार, तोरीचौर सामूदायिक बन उपभोक्ता समूहबाट पाँच हजार रुपैयाँ सहयोगका साथै स्थानीय जनसहभागिता रहेको निर्माण समितिले जनाएको छ ।

Comments
Loading...