नेपालमा २४ घण्टामा ५००८ जनामा कोरोना पुष्टि

हिमाली आवाज । नेपालमा आज सर्वाधिक कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर गरी पाँच हजार ८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरी १९ हजार ३२० जनाको पिसिआर टेष्ट गरेकोमा उनीहरुमा संक्रमण देखिएको बताए ।

हालसम्म संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको उनले जानकारी दिए । २४ घण्टामा कोरोना भाइरस निको भएर १ हजार २२९ जना डिस्चार्ज भएको र डिस्चार्ज हुनेको कुल संख्या ७४ हजार २५२ पुगेको जनाइएको छ ।

त्यसैगरी आजमात्रै कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६१४ पुगेको मन्त्रालयले जनाएको छ ।

Comments
Loading...