माछापुच्छ्रेका पहिरो पीडितलाई प्रदेश र गाउँपालिकाबाट रु तीन लाख राहत

हिमाली आवाज । माछापुच्छ«े गाउँपालिका–८ खोराकोमुखका पहिरो पीडित तीन जनाको परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको छ ।

गाउँपालिका कार्यालयमा आइतबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारबाट रु ५० हजार तथा तथा गाउँपालिकाबाट रु ५० हजार गरी मृतकका तीन परिवारलाई जनही रु एक लाखका दरले राहत प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङले जानकारी दिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुुर चुमान तथा गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेका थिए ।

गत साउन २ गते विहान गएको विहान खोराकोमुख पाखाका प्रेमराज विकको घर माथिबाट आएको पहिरामा पुरिएर उनका तीन छोराका दुई नाति १६ वर्षीय कुशल, १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको घटनास्थलमै मृत्यु भएको थियो ।

राहत वितरण कार्यक्रममा मन्त्री चुमानले यस वर्ष गण्डकी प्रदेशमा प्राकृतिक विपत्तिका घटनाहरु अघिल्ला वर्षका तुलनामा बढी घटेको बताउँदै विस्थापितहरुको पुर्नःस्थापना तथा पीडितहरुलाई राहत प्रदान गरिने बताए । सङ्घीय सरकारसँगको सहकार्यमा विस्थापितहरुका लागि आवास निर्माण गरिने उनले जानकारी दिए ।

गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले इन्जिीनियरिङ डिजाइन तथा नाप जाँच बिना खनिएका ग्रामिण सडकका कारणबाट वर्खायाममा जनधनको क्षति पुगेको बताए ।

यस वर्ष पहिरोमा परी कास्कीमा तीन महिला, दुई पुरुष, तीन बालिका तथा तीन बालक गरी कूल ११ जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Comments
Loading...