कास्की प्रहरी प्रमुखले भने : प्रोएक्टिभ पुलिसिङलाई अवलम्बन गछौँ

हिमाली आवाज । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी)जीवन कुमार श्रेष्ठले नेपाल सरकारले नेपाल प्रहरीलाई दिएको जिम्मेवारी पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एसपी श्रेष्ठले अविचलित भई संविधान र कानूनले तोकेको काम गर्ने उल्लेख गरेका हुन् ।

पोखरा चेम्बर अफ कमर्स कास्कीले आयोजना गरेको सुरक्षा सम्बन्धी अन्तक्र्रियामा एसपी श्रेष्ठले नेपाल प्रहरीको नियमित काम गरेतापनि काम गर्ने तरिकामा फरकपन ल्याएको धारणा राखे । नेपाल प्रहरीका अधिकृतहरुको स्वभाव फरक फरक हुने चर्चा गर्दै उनले स्थान विशेष, संस्कृति, रहनसहन जातीगत विशेषको अवस्थालाई बुझेर काम गरेको बताए ।

लागुऔषध, चोरी, ठगी तथा सामाजिक विकृतिलाई परास्त गर्ने हिसाबले योजनाबद्ध ढंगले परिचालित भएको दावी गर्दै उनले अहिलेसम्म गरेको कामको समिक्षा गरी आगामी दिनमा सुधारको लागि प्रयत्न गर्ने जनाए । प्रोएक्टिभ पुलीसिङलाई अवलम्बन गर्दै व्यवहारमा नम्रता र कानून कार्यान्वयनमा कठोरता बन्ने बताए ।

प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सुवास हमालले कास्की प्रहरीले ‘चाडपर्व दसैं सुरक्षा योजना– २०७७’ सार्वजनिक गर्दै जिल्लामा चौबिसै घन्टा गस्ती गरिने बताए । प्रहरीले मोबाइल गस्तीदेखि पैदल गस्ती गरिने जानकारी दिदै उनले गस्तीका लागि कमान्ड पोस्टबाट ७ जनाको टोलीसहित कन्ट्रोल रुमका ११० जना परिचालित हुने उल्लेख गरे ।

चाडपर्वका बेला यात्रुलाई पर्न सक्ने समस्या तत्काल समाधान गर्ने उद्देश्यले कास्की प्रहरीले पृथ्वीचोक र बागलुङ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गर्ने उल्लेख गर्दै उनलेदुबै कक्षमा ६÷६ जना प्रहरी रहने बताए ।उनले कोभिड १९को कारण चाडपर्व आफू बसेकै ठाउँमा मनाउन कास्की प्रहरीले अनुरोध गरे ।

कार्यक्रममा पृथ्वीराजमार्ग बस कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसी, पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारी, बैकर्स एशोसियसन गण्डकीका अध्यक्ष दिपेन्द्र शर्मा, पोखरा चेम्बर अर्फ कमर्स कास्कीका अध्यक्ष किसान सुनार वरिष्ठ उपाध्यक्ष गिता तिवारी गौतम, महासिचव उमराज बास्तोला,रेवान पोखराका अध्यक्ष भीमसेन भुजेल,पोखरा पर्यटन परिषदका महासचिव लक्ष्मण बराल लगायतले बोलेका थिए ।

Comments
Loading...