चाडबाड मुखैमा आइपुग्दासमेत खुलेन सुपथ मूल्य पसल

बागलुङ । चाडबाड मुखैमा आइपुग्दासमेत यहाँ सुपथ मूल्य पसल खुल्न सकेको छैन । चिनी अभाव हुँदा पसल सञ्चालन गर्न नसकिएको ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ बागलुङ कार्यालयले जनाएको छ ।

अघिल्ला वर्षहरुमा यतिञ्जेल पसल खुलिसक्थ्यो । ठूला पर्वलाई लक्षित गरी सञ्चालन गरिने सुपथ मूल्य पसलबाट उपभोक्ताले थोरै भए पनि राहत पाउँथे । “चिनी नआएकाले पसल खोल्न सकिएन”, कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले भने, “संस्थानमै चिनीको अभाव छ, स्टक भएका केही ठाउँमा पसल खुले पनि पर्याप्त छैन ।”

उनले भारतबाट चिनी खरिदको प्रक्रिया शुरु भएकाले जिल्लामा आउँदासाथ छोटो समयका लागि भए पनि सूपथ पसल सञ्चालन गरिने बताए । “चिनी आउन अझै साता दिन बढी लाग्ने देखिन्छ, ढिलो गरी भए पनि उपभोक्तालाई सेवा दिन प्रयासरत छौँ”, उनले भने ।

चिनी उपलब्ध भएपछि भौतिक दूरी कायम गरी बिक्रीको प्रबन्ध मिलाइने प्रमुख श्रेष्ठले उल्लेख गरे । कार्यालयले बर्सेनि चाडबाडलाई लक्षित गरी बजार भाउभन्दा सस्तोमा चिनी, नुन बिक्री गर्दै आइरहेको छ । चिनीको भण्डारण रित्तिए पनि नुनको भने अभाव छैन ।

Comments
Loading...