माछापुच्छ्रेमा प्रश्तावित एन्फा ‘टेक्निकल सेन्टर’ अन्त जान दिँदैनौँ, तत्कालै तटबन्धनको काम शुरु गछौँ : मुख्यमन्त्री गुरुङ

कृष्ण दवाडी, हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले कास्कीको माछापुच्छ्े गाउँपालिका–६भिँडाबारीमा निर्माणको योजना अघि बढाएको एन्फा टेक्निकल सेन्टर(एन्फा एकेडेमी)को प्रश्तावित स्थलको निरीक्षण गरेका छन् ।

दुई वर्षअघिदेखी एन्फाले सो क्षेत्रमा आधुनिक र सुविधासम्पन्न फुटबल एकेडेमी निर्माणको प्रक्रिया अघि बढाएकामा प्रश्तावित जमिनको पूर्व र पश्चिम दुबैतर्फ इदी र मर्दि खोलाको कटान नियन्त्रणका लागि पहिला तटबन्धनको काम शुरु गर्नुपर्ने आग्रह एन्फाले गरेपछि मुख्यमन्त्री गुरुङ, सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रदेशसभा सदस्य रामजी प्रसाद बराल लगायतको टोलीले आज स्थलगत निरीक्षण गरेको हो ।

भिँडाबारीमा ५०० रोपनी जमिनमा एकेडेमी निर्माणका लागि फिफाले पहिलो चरणमा एन्फालाई रु १७ करोड बजेट उपलव्ध गराएकामा एन्फा कार्यसमितिले त्यसलाई अनुमोदन गरिसकेको छ । परियोजनाको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर), जमीन नाप जाँच लगायतका कार्यहरु सम्पन्न भएर निर्माणका लागि बोलपत्र आह्वानको अन्तिम तयारी भएपनि प्रश्तावित स्थलको दुबैतर्फ नदी तटवन्धनको कार्य गर्न एन्फाले आग्रह गरेका माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले बताए ।

उनले भने,“एकेडेमी निर्माणका लागि सम्पूर्ण माछापुच्छ्रेवासी तथा स्थानीय उत्साहित छन् । हामीले स्थानीयस्तरमा गर्नुपर्ने सबै काम सम्पन्न गरेर पठाएका छौँ तर शिलान्यास अघि तटबन्धनको काम गर्न एन्फाले प्रदेश तथा स्थानीय सरकारसँग आग्रह गरेको छ ।”

एन्फाले प्रश्ताव गरेको सो एकेडेमीमा दुई फुटसल मैदान,दुई अभ्यास मैदान, एक मुख्य मैदान सहित चार छात्रवास, दुई छात्रावास,प्रशासन भवन, चमेनागृह,दुई पाहुना ब्लक,जीम,मेडिकल तथा पुर्नःस्थापना केन्द्र,आर्टिफिसियल मिनि पीच,दुई बीच फुटबल मैदान लगायतका संरचना बनाउने योजना रहेको छ ।

निरीक्षणपछि मुख्यमन्त्री गुरुङले परियोजना शुरुआत गर्नुअघि मर्दी र इदी खोलाले कटान गरेको जमीन संरक्षणका लागि प्रदेश सरकारले काम अघि बढाउने बताए । तटबन्धनका लागि प्रदेश सरकारको बजेट र कार्यक्रम नभएकाले अतिरिक्त निर्णय गरेर भएपनि काम गरिने बताउँदै मुख्यमन्त्री गुरुङले भने,“यो फुटबल टेनिङ एकेडेमी अन्त जान दिँदैनौ, अहिले कार्यक्रम र बजेटमा नभएकाले अतिरिक्त निर्णय गर्नुपर्ने हुन्छ । पोखरादेखी नजिकको यस ठाउँमा गण्डकी प्रदेशकै गौरवको परियोजना एन्फा टेक्निकल सेन्टर बनाउन आवश्यक कार्य गर्न सरकार प्रतिवद्ध छ ।”

नदी कटानको जोखिमलाई देखाएर परियोजना अन्यत्र जान्छ कि भन्ने आशंका रहेपछि त्यसो हुन नदिइने मुख्यमन्त्रीले स्पष्ट पारे । उनले भने,”खोलाले कटान गरेको स्थिति भइरहँदा र सरकारको चासो नहुँदा अन्य प्रश्तावित ठाउँमा यो परियोजना जान्छ कि ? लगानीमा जोखिम हुन्छ कि भन्ने छ । प्रदेश सरकारको तर्फबाट के गर्न सकिन्छ भनेर म आँफै निरीक्षणका लागि आएको हुँ ।”

गुरुङले भन्नुभयो,सो परियोजनामा चौथो चरणसम्म गरी रु ८० देखी ९० करोड हाराहारीमा लगानी हुने जानकारी एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले आफूलाई जानकारी गराएको उल्लेख गरे ।

गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले सडक पहुँचबाट सुगम र रमणीयस्थलमा एकेडेमी बन्दा यसले फुटबल विकासमा योगदान पुग्ने भएकाले एन्फा एकेडेमीको प्रश्तावित स्थलसँगैको मर्दी र इदि खोलाको दुबैतर्फनै कटान नियन्त्रणका लागि तटबन्धन गर्नुपर्नेमा जोड दिए ।

बरालले भने,“स्थानीय जनता परियोजनामा उत्साहित छन्, यसमा सबैको सहयोग मार्फत एकेडेमी बन्ने कुराको सुनिश्चितता गरिनुपर्दछ ।”

Comments
Loading...