रेवान अध्यक्षमा बराल,पत्रकार लामिछानेलाई पुरस्कार

हिमाली आवाज । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखराको अध्यक्षमा लक्ष्मण बराल निर्वाचित हुनुभएको छ ।

शनिबार पोखरामा भएको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट बराल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा नरेश भट्टराई, द्वितीय उपाध्यक्षमा विश्वराज पौडेल, महासचिवमा विकास भट्टराई, सचिवमा भिष्म पौडेल, कोषाध्यक्षमा लोक गुरुङ र सहकोषाध्यक्षमा रोशनजङ्ग कार्कीलाई चयन गरेको छ । सदस्यमा दोर्जे लामा, योगेश भट्टराई, वैभव पौडेल, वीरेन शेरचन, वसन्त गौतम र राजेन्द्र ढकाल निर्वाचित हुनुभयो ।

यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यक्रमको उद्घाटन गर्दै कोरोनाले पर्यटन क्षेत्रमा ठूलो असर पारेको बताउनुभयो । तर अब सधै कोरोनासंग डराएर लकडाउन गरेर बस्न नहुने उहाँको तर्क थियो । प्रदेशले पर्यटन क्षेत्रमा दैनिक २७ अर्ब घाटा क्षेत्रमा व्यहोरिरहेको उल्लेख गर्दै मुख्यमन्त्रीले अहिले व्यवसायीलाई राहत कार्यक्रम उपलब्ध गराएर व्यवसायबाट पलायन हुन नदिन आफूले विशेष पहल गरिरहेको जानकारी दिनुभयो ।

सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले लामो समयदेखिको विवादित फेवाताल सीमाङ्कनको कामले तीव्रता पाएको जनाउँदै उनले फेवातालको विषय टुङ्गेपछि पोखराको पर्यटनमा थप उत्साह थपिने विश्वास व्यक्त गर्नुभयो । उहाँले लेकसाइड वरपरको क्षेत्रमा थप सौन्दर्यकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले कोभिड–१९ संग लड्दै अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । रेवान पोखराका सल्लाहकार गणेशबहादुर भट्टराईले पर्यटन क्षेत्रमा भएको ठूलो लगानी डुब्न नदिन सरकारले पर्यटन व्यवसायीहरुलाई विशेष प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो । रेबानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले सरकारले रेष्टुरेण्ट व्यवसायलाई पर्यटन क्षेत्रमा सामेल नगराएर विभेद गरेको बताउनुभयो ।

भीमसेन भुजेलले अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपाध्यक्ष लक्ष्मण बरालले स्वागत तथा सचिव विकास भट्टराईले कार्यप्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

पत्रकार लामिछानेलाई पर्यटन पत्रकारित पुरस्कार
पत्रकार विनोद लामिछाने पर्यटन पत्रकारिता पुरस्कार–२०७७ द्वारा सम्मानित हुनुभएको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएसनले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कारद्वारा यसपटक लामिछाने पुरस्कृत भएका हुन् । पुरस्कारको राशि नगद रु २५ हजार सहित सम्मान–पत्र रहेको छ ।

पत्रकारिताको मार्फतबाट पोखराको पर्यटन प्रवद्र्धन एवं विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै लामिछानेलाई सम्मान गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले रेवान पोखराको २६ औं वार्षिक साधारण सभा एवं १४ औं अधिवेशनका अवसरमा आयोजित एक कार्यक्रमका लामिछानेलाई सम्मान गर्नुभयो ।

विगत दुई दशकदेखि पत्रकारिताको क्षेत्रमा क्रियाशिल लामिछाने हाल आदर्श नेपाल राष्ट्रिय दैनिकका सम्पादक पदमा कार्यरत हुनुहुन्छ ।

 

Comments
Loading...