विपन्न महिला दशैँमा राहत पाएपछि खुःशी

हिमाली आवाज । गत वर्षदेखि नै प्यारालाइसिसले थलिएका पोखरा–११ काहूँका विष्णु परियारलाई आइतबार एक्कासी च्याप्यो । हाल उनी मणिपाल शिक्षण अस्पतालको आईसीयूमा उपचार गराइरहनुभएको छ । जेठी बुहारी सुत्केरी हुनुहुन्छ । जेठो छोरा दुर्घटनामा परे । कान्छो छोरा कुवेत जानेवित्तिकै कोरोना महामारी सुरु भयो । दसैंको मुखैमा उहाँको परिवारमा बज्रपात प¥यो ।

सिलाइ पेसा गरेर आम्दानी गर्ने श्रीमान थलिएदेखि सीता परियारको आँखामा आँशु थामिएको छैन । जेठो छोराले ल्याएको दसैं खर्च बुबाकै उपचारमा सकियो । वडा कार्यालयले विष्णुको उपचार गर्न १० हजार रुपैयाँ दियो । श्रीमान निको हुने नहुने द्विविधा त छ नै, उपचार खर्च सम्झेर उनको नौनाडी गल्छन् । चाडवाड आएकोमा उनलाई कत्ति पनि हर्ष छैन ।

मंगलबार दलित महिला संघ (फेडो) कास्कीले भने उनको ओठमा थोरै भए पनि मुस्कान भ¥यो । फेडोका प्रतिनिधि खाद्यान्न र रकम सहयोग गर्न पुगेपछि उनको मुहार केही उजेलियो । फेडोले उनलाई दसैं राहत प्रदान गरेको हो । राहत सामग्रीमा थियो एक बोरा चामल, २ किलो दाल, २ किलो चिनी, १ किलो नुन, २ लिटर तेल, १ पाउँ चियापत्ती, आधा किलो मस्यौरा र १ हजार रुपैयाँ । राहत बुझेपछि सीताले जसोतसो दसैं टर्ने बताउँदै फेडोलाई धन्यवाद दिनुभयो ।

अमेरिका निवासी समाजसेवीबाट संकलित रकमबाट फेडोले पोखराका विपन्न, अपांग एवं एकल महिलालाई राहत प्रदान गरेको हो । अमेरिकामा रहेकी पर्वतकी विष्णुमाया परियारको पहलमा सहयोग संकलन भएको थियो । उहाँ सहित रन्चु थापा, मनकुमारी पुन, तुमला श्रेष्ठ, उर्मिला लाम्गादे, यमुना पोखरेल, अतिकला लापा, चमेली परियार, कल्पना रामदाम, चुङला शेर्पा, कृष्ण सिंह, उजेली रामजाली, बिमला लिम्बु र भुवन विश्वकर्माले आर्थिक सहयोग गरिएको थियो । फेडो कास्कीले पोखराको बाटुलेचौर, हेमजा, काहूँ, बाँझापाटन, छोरेपाटन, घारीपाटन, कालिका, गगनगौंडा र रिठ्ठेपानीका १६ महिलालाई राहत वितरण गरेको सहसचिव सरस्वती परियारले जानकारी दिनुभयो ।

फेडो कास्की अध्यक्ष कोपिला गायकले कोरोना महामारीमा दलित महिलाको आर्थिक अवस्था झनै खस्किएको बताउँदै भन्नुभयो,‘यहीं बेला चाडवाड आउँदा भार झनै थपिन्छ,थोरै भएपनि राहत होस् भनेर सहयोग गरेका हौं ।’

 

Comments
Loading...