नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा दामु अधिकारीको उम्मेदवारी

हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रीय कार्यकारिणी समिति सदस्य पदमा उम्मेदवारी दिनुभएको छ ।

पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिको २४ औं बैठकले अध्यक्ष अधिकारीलाई संस्थापक सदस्यमध्येबाट महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेसँगै उहाँको उम्मेदवारी दर्ता भएको हो । पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले बुधबार अनलाइनबाटै उम्मेदवारी दर्ता गराउनु भएको हो । नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार संस्थापक सदस्यहरुमध्येबाट एकजना केन्द्रीय सदस्य हुन पाउने प्रावधान रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारण सभा यही मंसिर ११,१२ र १३ गते काठमाडौंमा हुन गइरहेको छ । साधारण सभाअन्तर्गतको निर्वाचन कार्यक्रमले महासंघको नयाँ नेतृत्व चयन गर्दैछ । पोखरा उद्योग वाणिज्य संघले यसअघि महासंघको अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पनि प्राप्त गरेको छ । महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले २०५४ सालदेखि २०५६ सालसम्म महासंघको अध्यक्षको सफल जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

महासंघमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको भूमिका बढाउन तथा मोफसलका उद्योगी÷व्यवसायीको हित रक्षा गर्नको लागि त्यही बेलादेखि पोखरा उद्योग वाणिज्य संघले महासंघका आफ्नो सक्रिय सहभागिता हुनुपर्ने मत राख्दै आएको थियो । त्यसो त संघका पूर्वअध्यक्षहरु त्रैलोक्यनाथ श्रेष्ठ,हेमबहादुर प्रधान, सुरेशकुमार राजभण्डारी, आजाद श्रेष्ठलगायतले पनि महासंघको पदाधिकारी रहेर जिम्मेवारी निभाउनु भएको इतिहास रहेको छ । 

‘अहिले हाम्रा अध्यक्षलाई त्यही परम्पराको निरन्तरता स्वरुप केन्द्रीय सदस्यको उम्मेदवारी बनाउने निर्णय गरिएको हो’, संघका महासचिव अर्जुन पोखरेलले भन्न्ुभयो,‘ उहाँलाई विजय गराउन संघले प्रचारात्मक अभियान थालिसकेको छ ।’

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष अधिकारी र महासचिव पोखरेल यतिबेला कोरोना संक्रमणसँगै होम आइसोलेसनमा हुनुहुन्छ । संक्रमणमुक्त भएसँगै प्रचारात्मक अभियान तीव्र पारिने पनि महासचिव पोखरेलको भनाई छ ।

Comments
Loading...