पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारी नियन्त्रणका लागि प्रतिबन्ध गरिएका पर्यटकीय क्षेत्र पुनःसञ्चालन गर्ने निर्णय गरेको हो ।

केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको कोरोनाबाट सुरक्षित रहने उपाय अपनाएर खुला गरिने भएको हो । ती क्षेत्र सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद्को गत कात्तिक २४ गतेको बैठकले नै गरिसकेको छ ।

मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा सुरक्षित रहने गरी पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भनिए पनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार जिल्लालाई नै दिइएको उल्लेख छ । यसरी खुल्ने केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना भए नभएको भने मन्त्रालय मातहतका निकायले नै अनुगमन गर्ने विज्ञप्तिमा जनाइएको छ ।

सरकारले यही कात्तिक १ गतेदेखि पदयात्रा र पर्वतारोहण खुला गरेको थियो । त्यसयता स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिले शरद् ऋतुमा अमादब्लम, मनास्लुलगायत हिमाल आरोहण गरिसकेका छन् । अहिले पदयात्रामा स्वदेशी तथा विदेशी विभिन्न गन्तव्यमा पुगेका छन् । केही आरोही समूह पनि आरोहणमा छन् ।

Comments
Loading...