पोखराको महेन्द्रपुलमा ट्राफिक बत्ती राखिने,मुख्य मुख्य चोकमा राख्ने योजना

हिमाली आवाज । बढ्दो ट्राफिक जाम र सवारी दुर्घटना न्यूनीकरणका लागि पोखरा महानगरपालिकाले मुख्य बजार क्षेत्रमा ट्राफिक बत्ती(लाइट) राख्ने भएको छ ।

प्रारम्भमा महेन्द्रपुलमा बत्ती राख्नका लागि बोलपत्र आह्वान भएर निर्माण कम्पनीसँग सम्झौता भइसकेकाले आगामी दुई महिनाभित्रमा लाइट सञ्चालनमा आउने महानगर प्रमुख मानबहादुर जिसीले बताउनुभयो ।

हालका लागि महेन्द्रपुलबाट बत्ती राख्ने काम शुरु हुने र आगामी दिनमा शहरका मुख्य मुख्य चोकहरुमा राख्ने योजना रहेको महानगरले जनाएको छ ।
“पोखरालाई स्मार्ट सिटी बनाउने योजना अनुसारनै महेन्द्रपुलबाट ट्राफिक लाइट राख्ने प्रक्रिया अघि बढाएका छौँ । यहाँ प्रभावकारी भएमा अन्य चोकहरुमा पनि विस्तार गछौँ । ” प्रमुख जिसीले भन्नुभयो ।

ट्राफिक बत्ती राख्नका लागि बिफ्रेण्ड कन्स्ट्रक्सनसँग रु १९ लागतमा सम्झौता गरिएको बताइन्छ । पोखराको महेन्द्रपुल सहित पृथ्वीचोक, सभागृहचोक,सृजनाचोक, शहीदचोक, जिरोकमी, हल्लनचोक र बुद्धचोकमा बढी जाम हुने गर्दछ ।

पोखरामा यसअघि विसं २०५६ मा तत्कालीन पोखरा उपमहानगरपालिकाले पोखरा कर्मसियल अटो पार्किङसँगको समन्वयमा ट्राफिक लाइट राखेपनि नियमित मर्मतको अभावमाा चार÷पाँच वर्षपछिनै बिग्रिएका थिए । महानगरले पुन डेढ दशकपछि ट्राफिक बत्ती राख्ने प्रक्रिया अघि बढाएको हो ।

ट्राफिक लाइट नहुँदा ट्राफिक आइल्याण्डमा बसेका प्रहरीले हातको इसारामा सवारी व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । जसका लागि एउटै चोकमा दुई भन्दा बढी ट्राफिक प्रहरी परिचालित हुनुपर्ने बाध्यता रहेकामा बत्ती जडानपछि जनशक्ति कम लाग्ने तथा प्रहरीको काममा सहज हुने बताइन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखराको मुख्य बजारक्षेत्रमा मात्र दैनिक ६० को हाराहारीमा ट्राफिक प्रहरी यातायात व्यवस्थापनमा खटिने गरेको जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले ट्राफिक बत्ती जडानबाट शहरको सुन्दरतासँगै प्रहरीको काममा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।उहाँका अनुसार शुरुआतमा बत्तीको नियम पालना गराउनका लागि प्रहरी चोकहरुमा प्रहरी परिचालन गर्नुपर्ने भएपनि पछि कम जनशक्ति भए पुग्छ ।

कास्कीमा दैनिक ९० देखी १०० को हाराहारीमा ट्राफिक प्रहरी राजमार्ग तथा बजार क्षेत्रमा परिचालित हुँदै आएका छन् ।

Comments
Loading...