कास्कीको रुपा, अन्नपूर्ण र मादीमा अस्पताल भवन शिलान्यास

हिमाली आवाज । कास्कीको मादी, अन्नपूर्ण र रुपा गाउँपालिमा सोमबार अस्पताल भवनको शिलान्यास गरिएको छ ।

नेपाल सरकारको देशका ३९६ स्थानीय तहमा अस्पताल बनाउने योजना अनुसार ती पालिकाले आआफ्नो क्षेत्रमा अस्पताल भवन निर्माणको शिलान्यास गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिकाले वडा नं २ को ढिकुरपोखरीस्थित नागडाँडा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी सुविधासम्पन्न गरी १५ श्ययाको सुविधासम्पन्न अस्पताल बनाउने भएको छ । गाउँपालिका अध्यक्ष युवराज कुँबरले अस्पताल भवनको शिलान्यास गर्नुभयो । रु १४ करोड २० लाख लागतमा तीन तलाको आरसिसि भवनमा अस्पताल सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

यसैगरी रुपा गाउँपालिकाले पनि १५ श्ययाको अस्पताल भवनको शिलान्यास गरेको छ । वडा नं ६ मा निर्माण गरिने अस्पतालको गाउँपालिका अध्यक्ष नवराज ओझाले शिलान्यास गर्नुभएको हो ।

हाल पाँच शैयाको सेवासहित सञ्चालित उक्त अस्पतालमा एक जना डाक्टर, ल्याब, भिडियो एक्सरे सेवा प्रबाह हुँदै आइरहेकामा श्यया विस्तारपछि थप जनशक्ति सहित स्वास्थय सुविधा प्रदान गरिने अध्यक्ष ओझाले जानकारी दिनुभयो ।

यसैगरी मादी गाउँपालिकामा पनि आज १५ श्ययाको अस्पताल भवनको शिलान्यास गरिएको छ । मादी–७ को तल्लो छाचोक(खन्टारी)मा १० रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने अस्पतालको प्रतिनिधिसभाका सांसद एवं पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले शिलान्यास गर्नुभएको हो ।

अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रु तीन करोड २३ लाख बजेटको अख्तियारी गाउँपालिकालाई आइसकेको र बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने सो अस्पतालका लागि रु १८ करोड ३२ लाख बजेट तय गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिनुभयो ।

टिप्पणिहरु
Loading...