बाल यौन दुरुपयोग र अप्राकृतिक मैथुनको अभियोगमा पोखराबाट विदेशी नागरिक पक्राउ

हिमाली आवाज । बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको अभियोगमा प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–६ खहरे बस्ने फ्रेन्च नागरिक ६० वर्षीय क्रिष्ठियन सर हेनरीलाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पोखरा महानगरपालिका–१७ बिरौटा पावरहाउस फुस्रेखोला बगरमा ७ वर्षीय, ८ वर्षीय र १२ वर्षीय गरी ३ जना नाबालकलाई बाल यौन दुरुपयोग र शोषण गरिरहेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई पक्राउ गरेको हो ।

बिभिन्न हिसाबले नेपाल प्रवेश गरेका तथा नेपालमा आई बसेका केही विदेशी नागरिकहरु बाल यौन दुरुपयोग र शोषण कार्यमा संलग्न रहेको भन्ने सूचनाको आधारमा ब्यूरोबाट विशेष सूचना परिचालन तथा कारवाही गर्ने क्रममा उनलाई फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पेशाले कम्प्युटर ईन्जिनियर रहेका उनी ‘नन टुरिष्ट भिसा’मा नेपालमा बसोबास गरिरहेको खुल्न आएको छ ।

उनलाई बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाईएको तथा पीडित तीन जना नाबालकलाई उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Comments
Loading...