बाख्रा पालनबाट समृद्ध बन्दै कास्कीको मौजा गाउँ, एकै वर्षमा ९० लाख आम्दानी

हिमाली आवाज । पोखरा महानगरपालिका–२० मौजा गाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् ।जिल्लामा बाख्राको पकेट क्षेत्र समेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर रु ९० लाख कमाई गरेका हुन् ।

मौजामा विसं २०६२ देखी व्यवसायिक बाख्रापालन शुरु गरिएको थियो । पछि विसं २०६७ मा बाख्रा पालन समूह गठन गरियो ।
विसं २०७१ मा मौजा बाख्रापालक कृषि सहकारी मार्फत अधिकाँस गाउँलेले व्यावसायिक बाख्रा पालन शुरु गरे । सहकारी अन्तर्गत यहाँका ४० कृषकले बाख्रा पालन गर्दै आएको मौजा बाख्रा पालक कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर गुरुङले बताउनुभयो । सहकारी मार्फत हाल दुई हजार ५०० बाख्रा पालिएको छ ।

सहकारीमा १०० सदस्य आवद्ध भएपनि अन्यले भैँसी,गाई तथा तरकारी खेती गरेका छन् । यहाँका कृषकले खरी, जमुना पारी, सिनाल लगायत जात पाल्ने गरेका छन् । साना फार्ममा १० तथा ठूलामा २०० वटासम्म बाख्रा पालिएको छ ।

“बाख्रापालनबाट हामी यहाँका सबै कृषक सन्तुष्ट छौँ । आफ्नै ठाउँमा बसेर यस पेशाबाट वार्षिक ९० लाख हाराहारीमा आम्दानी भएको छ ।” सहकारीमा अध्यक्ष गुरुङले भन्नुभयो,“बजारको कुनै समस्या छैन,वडा कार्यालय लगायतका सरकारी निकायहरुबाट समेत राम्रो सहयोग पाएका छौँ ।”
यहाँका ठूला बाख्रापालक कृषकले वर्षमा रु १५ लाख हाराहारीमा बाख्रा बिक्री गर्ने गरेको र रु छ लाख बचत गर्ने गरेका छन् । बाख्राको प्रमुख बजार पोखरा हो । माग अनुसार गाउँबाटै गाडीमा बाख्रा बिक्रीका लागि पठाउने गरिएको छ ।

खरी र बोयर जातको क्रस गरिएको बोका प्रजननका लागि कास्की बाहेकका पर्वत, बाग्लुुङ, स्याङ्जा लगायतका क्षेत्रका कृषक समेत खरीदका लागि आउने गरेको सहकारीले जनाएको छ ।
प्रजननका लागि प्रतिकेजी रु एक हजार तथा अन्य खसी बोका रु ६५० प्रति केजीका दरले फार्मबाट बिक्री हुने गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पशुपालनबाट राम्रो आम्दानी भएपछि पछिल्लो समय युवाहरु समेत यसतर्फ आकर्षित छन् । विगतमा सडक सुविधा नहुँदा विकट रहेको यस ठाउँमा अहिले गाउँसम्मै ग्राभेल सडक निर्माण भइरहेको छ ।

यातायातको सुविधा र उत्पादित कृषि उपज बजारसम्म लैजान सहज भएपछि बाख्रा, भैँसीपालन र तरकारी खेती गर्नेहरुको सङ्ख्या बढिरहेको स्थानीयवासी बताउँछन् ।

बाख्रापालनबाट आफूहरुले राम्रो आम्दानी गरेपनि राज्यले दिने अनुदान सहयोग वास्तविक कृषकसम्म नपुगेको उनीहरुको गुनासो छ । कतिपय कृषकले अनुदान लिनकै लागि मात्र एक÷दुई वर्ष पशुपालन गर्ने अनि अनुदान आएपछि सो पेशा छाड्ने गरेकाले उत्पादनका आधारमा अनुदान दिनुपर्ने माग कृषकको छ ।

पोखरा महानगरपालिका–२० का वडाध्यक्ष सिमबहादुर गुरुङले बाख्रापालनको गाउँ भनेर वडाको चिनारी भएको बताउँदै बाख्रापालन र अन्य पशुपालनलाईसँगै लैजाने योजना रहेको बताउनुभयो ।

बीउ बोका वितरण, घाँस काट्ने मेसिन लगायतका कार्यक्रम मार्फत कृषकहरुलाई वडामार्फत सहयोग उपलव्ध गराइएको उहाँले जानकारी दिनुभयो ।
“बाख्राको पकेट क्षेत्र मौजा भनेर हाम्रोे वडा चिनिएको छ । महानगरका ३३ वडामध्यमा कृषिको राम्रो सम्भावना यहाँ छ ।” वडाध्यक्ष गुरुङले भन्नुभयो,“बाख्रासँगै अन्य व्यावसायीक कृषि उत्पादनका माध्यबाट वडालाई कषि पर्यटनको हब बनाउँछौँ ।”साविकको जिल्ला पशु सेवा कार्यालय कास्कीले विसं २०७१ मा मौजालाई बाख्राको पकेट क्षेत्र घोषणा गरेको थियो ।

त्यसयता भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तथा पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयबाट कृषकहरुको गोठ सुधार, तालीम, बजारको सुनिश्चितता लगायतमा सहयोग गर्दैै आएको पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Comments
Loading...