प्राकृतिक स्रोत र साधन साझा सम्पत्ति भएकाले संरक्षणमा साझा धारणा आवश्यक रहेकामा जोड

हिमाली आवाज । संचारिका समूह नेपालको आयोजनामा वातावरणिय संरक्षण तथा लैगिंकता र सामाजिक समावेशिकरण विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केदारनाथ शर्माले प्राकृतिक स्रोत र साधन सबैैको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा साझा धारणा हुनुपर्ने बताउनुभएको छ । उहाँले पृथ्वी सबैको साझा भएकाले यसको पर्यावरण जोगाउने जिम्मेवारी पनि सबैको साझा हुने बताउनुभएको हो ।

उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकालले वातावरण संरक्षण तथा वन्यजन्तु संरक्षणको विषयमा प्राकृतिक स्रोत र साधनको रुपमा निकै धनी भएपनि त्यसको सहि प्रयोग र व्यवस्थापन गरेर आर्थिक उपार्जनमा लगाउन नसकिएको बताउनुभयो ।

उहाँले महिलाको आर्थिक सशक्तिकरणका लागि वातावरणीय स्रोत साधनको सही सदुपयोग गरेर आर्थिक उपार्जनमा जोड्न नितीगत खाँचो औल्याउनुभयो ।

कोपिला नेपालका कार्यकारी निर्देशक एवम् महिला अधिकारकर्मी विना सिलवालले प्राकृतिक स्रोत र साधन माथि महिलाको पहुँच र नियन्त्रण हुन नसक्दा संरक्षकको भूमिकामा मात्र महिला रहेको बताउनुभयो ।

उहाँले २०५२ सालमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गठन भएपछि विधानमा ५० प्रतिशत महिलाको सहभागिता अनिवार्य गरेर सकारात्मक सन्देश दिएको बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ स्याङ्जाका अध्यक्ष दोव बहादुर कार्कीले वन वातावरण संरक्षणमा महिलाको भूमिका अतुलनीय रहेको र महासंघ महिला नेतृ जन्माउने संस्था भएको बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले प्राकृतिक स्रोत साधन पहुँचमा महिलाको सहभागिता बढाउन स्पष्ट नीति नियमको खाँचो औल्याउनुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले वातावरणीय मुद्दामा पत्रकारहरुले उजागार गर्दै वन वातावरण पर्यावरण भित्रका गहन विषयको खोजी जरुरी रहेको बताउनुभयो ।

समुहका केन्द्रीय सदस्य एवं पत्रकार महासंघ कास्कीका उपाध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा वन वातावरणको संरक्षणका साथै प्राकृतिक स्रोत साधनमा महिलाको पहुँच र नियन्त्रणको विषयमा छलफल गरिएको थियो । सञ्चारिका समूहले निरन्तर महिलाको मुद्दामा वकालत गर्दै लैगिंक सहभागिता र समानताका विषयलाई जोड दिँदै आएको भण्डारीले बताउनुभयो ।

कार्यक्रममा सञ्चारिका गण्डकी प्रदेशका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक राधिका कँडेलले स्थानीय स्तरमा महिलाको निर्णायक भूमिका तथा स्रोत बाँडफाँडमा महिलाको अवस्था र सामाजिक समावेशीकरणको क्षेत्रमा भएका प्रयासहरुको बारेमा अन्तक्रियात्मक कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा संचारिका समूह गण्डकी प्र्रदेशका महासचिव कविता श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो भने वन वातावरण एवं सामाजिक क्षेत्रका ३५ जना सहभागि रहेका थिए ।

Comments
Loading...