मनकामना केबुलकार एक साता बन्द हुने

चितवन । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ। नियमित मर्मतसम्भारका लागि सात दिन केबुलकार बन्द गर्न लागिएको हो।
यही पुस १४ गतेदेखि पुस २० गतेसम्म केबुलकार बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो। सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजन केबुलकारमा यात्रा गरेका थिए। आजभोली मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको शेरचनले बताउनुभयो ।

कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित बृहत् मर्मतसम्भारको समयतालिका अनुसार सेवा बन्द गरी मर्मत गर्न लागिएको हो। नियमित मर्मतसम्भारपछि पुस २१ गते मङ्गलबारदेखि पुनः नियमित सेवा सञ्चालन गरिने मनकामना दर्शन प्रालिले जनाएको छ।

Comments
Loading...