बुद्ध विशाल बजारले नारायण प्यानललाई सघाउने

हिमाली आवाज । चिप्लेढुंगामा रहेको बुद्ध विशालबजारका व्यवसायीहरुले नारायण कोइराला प्यानललाई सहयोग गर्ने निर्णय गरेका छन् ।

बुद्ध बिशाल बजार व्यापारिक एसोसियसनका अध्यक्ष केशबबहादुर खत्रीले यही प्यानलबाट उपमहासचिव पदमा उम्मेदवारी दिएका कारण संस्थागत निर्णय गरेरै प्यानललाई सहयोग गरिएको हो । पुस २४ र २५ गते हुने ३३ औं महाधिवेसनमा कोइरालाको नेतृत्वमा उम्मेदवारहरुको छुट्टै प्यानल घोषणा गरिएको छ ।

सोमबार समितिको बैठक बसेर प्यानललाई जिताउन संस्थागत रुपमै निर्णय गरिएको महासचिव इन्द्र अर्यालले जानकारी दिनुभयो । ‘हाम्रो अध्यक्ष पोखरा उद्योग वाणिज्य संघको समितीमा जानुभयो भने हाम्रा समस्या छिटो सम्बोधन होला भनेर हामीले यो निर्णय गरेका हौं,’ उहाँले भन्नुभयो । एसोसियसनको निर्णयको स्वागत गर्दै अध्यक्ष पदका उम्मेद्वार नारायण कोईरालाले धन्यवाद ज्ञापन गर्नुभयो । आफु संगै सबै प्यानलले जितेमा सबै व्यवसायी र उद्योगीको समस्या समाधानमा लाग्ने उहाँको प्रतिवद्धता छ ।

यसैगरी,सोमबार नै पोखरा १४ चाउथेमा रहेको खसी बजारका व्यावसायीहरुले पनि नारायण कोईराला प्यानललाई सहयोग गर्ने मौखिक समर्थन जनाएका छन् । यो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, बाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल, उद्योग उपाध्यक्षमा चिनुकुमारी गुरुङ, महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री हुनुहुन्छ ।

सदस्यहरुमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । कुमानी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला कार्यसमिति सदस्यको उम्मेद्वार रहनुभएको छ । यस्तै, एशोसियट्स सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) उम्मेदवार बनेका छन् भने उद्योग बाणिज्य संघमा विगत लामो समयदेखि काम गरेको समूह भएकोले आफुहरुले चुनाव जित्ने दावी कोइराला प्यानलको छ ।

Comments
Loading...