पोखराको औद्योगिक विकासमा समान धारणामा जोड

हिमाली आवाज । पोखराको औद्योगिक विकासमा निजी क्षेत्रको समान धारणा हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले सहमति जनाएका छन् । पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको सम्मानमा  पोखरा औद्योगिक क्षेत्र उद्योग संघ तथा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन संघ कास्कीले बिहीबार गरेको स्वागत कार्यक्रममा उनीहरुले सो सहमति व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले औद्योगिक, कृषि र आवास क्षेत्रको वर्गीकरणमा सरकार चुक्दा विभिन्न समस्या आएको बताउनुभयो । हिजो औद्योगिक क्षेत्र खाली क्षेत्रमा बनाइएको तथ्य पेश गर्दै उद्योगले रोजगारी दिँदा नै सो क्षेत्रमा बस्ती बढेको जिकिर पनि गर्नुभयो ।  उहाँले पोखराको कोत्रेमा प्रस्तावित नयाँ औद्योगिक क्षेत्र स्थापनाको लागि संघले सरोकारवाला निकायहरुसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख भुषणप्रसाद उपाध्यायले पोखरा औद्योगिक क्षेत्रबाट प्रदुषण भयो भन्ने गुनासो नाजायज भएको बताउँदै उद्योगहरुले प्रदुषण नियन्त्रणमा सक्दो योगदान दिएको उल्लेख गर्नुभयो । घरमा मोही पार्ने ठेकी धुँदा पनि केही प्रदुषण त हुन्छ तर त्यो प्रदुषणले खासै केही बिगार्दैन’, उहाँले भन्नुभयो,‘औद्योगिक क्षेत्रबाट निस्कने फोहर पनि ठेकी पखालेको पानीजस्तै हो ।’

संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले उद्योग र वाणिज्य क्षेत्रको विकास सँगसँगै हुनुपर्नैमा जोड दिनुभयो । पोखरा औद्योगिक क्षेत्र उद्योग संघका सल्लाहकार चन्द्रराज राजभण्डारीले उद्योगहरुको विकासको लागि आवश्यक पर्ने तालिमहरुको लागि पोखरा उद्योग वाणिज्य संघले पहल गर्नुपर्ने बताउनुभयो ।  संघका अर्का सल्लाहकार तथा सिएनआईका अध्यक्ष विनोद न्यौपानेले निजी क्षेत्रको आवाज सधैँ एक हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम तथा पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष सुरेशबहादुर श्रेष्ठले औद्योगिक क्षेत्रका उद्योगहरुले भोगेको समस्याबारे चर्चा गर्दै उद्योगको विकासबिना देशको विकास सम्भव नभएको बताउनुभयो । संघका सचिव सुरेन्द्रबहादुर गोदारले पोउवा संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सहकार्यले नै सफल हुने धारणा राख्नुभएको थियो ।

Comments
Loading...