माछापुच्छ्रेमा ओली पक्षिय नेकपाको कार्यकर्ता भेला,प्रचण्ड–माधव नेपालले लोकतन्त्रको कुरा गर्न सुहाउँदैन : मन्त्री गुुरुङ

हिमाली आवाज । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले महाधिवेशन नगरिकन आजिवन पार्टी अध्यक्ष बन्ने प्रचण्डले विधि,पद्धती र लोकतन्त्रका कुरा गर्न नसुहाउने बताउनुभएको छ ।यसैगरी तत्कालीन एमालेमा १५ वर्ष महासचिव बन्नु भएका माधव नेपालले विधि र लोकतन्त्रको कुरा गर्नु सुहाउने कुरा नभएको उहाँको भनाई छ ।

प्रधानमन्त्री केपी ओली पक्षिय नेकपा माछापुच्छ«े गाउँपालिका कमिटीले आज लाहाचोकमा आयोजना गरेको गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री गुुरुङले आगामी वैशाखमा निर्वाचन हुने भएकाले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले कार्यकर्तालाई निर्देशन दिँदै भन्नुभयो,“वैशाखमा निर्वाचन गर्ने हो तयारीमा लाग्नुहोस् ,बहुमत र सबैभन्दा ठूलो पार्टी हामी संस्थापन पक्षकै हुन्छ, प्रचण्ड,माधवले नेतृत्व गरेको पार्टीमा मान्छे जाँदैनन् ।”

पार्टीको स्थायी कमिटीका सदस्य समेत रहनु भएका नेता गुरुङले बहुमत प्राप्त दलको नेता प्रधानमन्त्रीलार्ई आफ्नै दलका नेताले अविश्वास र षड्यन्त्र गरिसकेपछि दलमा गएर पुनः सर्मथन देउ भन्ने कुराको अर्थ नरहेकाले प्रधानमन्त्रीले आफूलाई निर्वाचित गर्ने जनताकोबीचमा ताजा जनादेशका लागि जाने निर्णय गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा संस्थापन पक्षले प्रचण्ड, माधव नेपाल लगायत कुनै पनि नेतालाई कारवाही नगरेकाले समेत मूलधार सोही पार्टी रहेको भनाई नेता गुरुङको छ ।

पूर्वमन्त्री खगराज अधिकारीले प्रचण्ड–नेपाल पक्षले जहिलेपनि पदका लागि बार्गेनिङ गर्ने गरेको भन्दै तोकिएको मितिमानै निर्वाचन हुने बताउनुभयो ।

पूर्वमन्त्री जगत विश्वकर्माले जनताको बीचमा जाने कुरा प्रतिगमन नहुने भन्दै निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिँदै आगामी निर्वाचनमा पनि प्रधानमन्त्रीले नेतृत्व गरेको पार्टीले बहुमत प्राप्त गर्ने दावी गर्नुभयो ।

कार्यक्रममा ओली पक्षिय नेकपाका केन्द्रीय सदस्यहरु राजीव पहारी, पुष्पा केसी भण्डारी, शर्मिला गुरुङ, दामोदर बैरागी, गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी दवाडी, गाउँपालिका कमिटीका अध्यक्ष जगन्नाथ बास्तोला लगायतले पार्टीलाई एकतावद्ध बनाउँदै निर्वाचनमा होमिनका लागि कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।

Comments
Loading...